काठमाडौं । आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको संयुक्त सहकार्यमा सातै प्रदेशमा आइसिटी ज्ञान कार्यक्रम सम्पन्न भएको छ । सातै प्रदेशमा डिजिटल साक्षरता फैलाउने उद्देश्यले गत जेठ १६ गतेदेखि डिजिटल साक्षरतामूलक कार्यक्रम आइसिटी ज्ञान शुरू भएको थियो । सातै प्रदेशका विभिन्न ठाउँमा आयोजना भएको कार्यक्रममा डिजिटल साक्षरता कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, विज्ञ, स्थानीय लगायत २ हजारभन्दा बढीको सहभागिता थियो । कार्यक्रम कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सर्लाही, बागमतीको दोलखा, गण्डकीको स्याङ्जा, लुम्बिनीको प्युठान, कर्णालीको सल्यान र सुदूरपश्चिमको कैलालीमा आइसिटी ज्ञान सञ्चालन भएको थियो ।
कार्यक्रममा ओटीपी कोड शेयर गर्न नहुने, जुन पायो त्यही मोबाइल एप चलाउन नहुने, वेबसाइट आधिकारिक हो कि होइन एकिन गर्नुपर्ने, कसैले भनेको वा सोधेको आधारमा आफ्नो विवरण शेयर नगर्ने, फ्री वाईफाई प्रयोग गरेर डिजिटल कारोबार नगर्ने, विशेष क्यारेक्टरको प्रयोग गरेर सजिलै अनुमान गर्न नसकिने पासवर्ड राख्ने, बेला बेला पासवर्ड परिवर्तन गर्ने, अकाउन्टहरूमा टु फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्ने, नागरिकता, राष्ट्रिय परिचयपत्र वा अन्य परिचय खुल्ने विवरण सामाजिक सञ्जालमा शेयर नगर्ने, आफ्नो नामको मोबाइल नम्बर प्रयोग गर्ने जस्ता साक्षरता प्रदान गरिएको थियो । प्रविधिको विकास र विस्तारसँगै डिजिटल साक्षरतामा देखिएको खाडललाई कम गर्न एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आइसिटी ज्ञान शुरू गरिएको बताइएको छ ।