काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच चिनो खोलामा ७ दशमलव ८३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न रु. १ अर्ब ३६ करोड वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । उक्त सहमतिपत्रमा एभरेष्ट बैंकका कार्यकारी प्रमुख सुदेश खालिङ र चिनो हाइड्रोपावरका अध्यक्ष विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
मनाङको नासोङ गाउँपालिकास्थित उक्त परियोजना बुटवल पावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित परियोजना हो । परियोजना दुई वर्षमा सम्पन्न गर्ने गरी चाइनिज ठेकेदारलाई ईपीसी मोडलमा ठेक्का लगाएको बताइएको छ । यसबाट उत्पादित विद्युत् मनाङको धारापानीस्थित सब स्टेशनबाट राष्ट्रिय ग्रिडमा जोडिने छ । परियोजनाको लागि नेपाल विद्युत् प्राधिकरण र चिनो हाइड्रोपावरबीच गत वैशाखमा विद्युत् खरीद विक्री सम्झौता सम्पन्न भइसकेको छ । परियोजनाबाट वार्षिक ४४ दशमलव ४६३ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।