काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ जारी गर्दै छ । कम्पनीले ६ लाख ९७ हजार २०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो ।
जारी पूँजी ३४ करोड रूपैयाँको २४ दशमलव ७१ प्रतिशतले हुने सर्वसाधारणतर्फको कुल ८ लाख ४० हजार कित्ता शेयरमध्ये ८४ हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीमा र ४२ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट सम्पन्न भएको छ । १६ हजार ८०० कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरी ६ लाख ९७ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याइँदै छ ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । फागुन २ गतेसम्म विक्री खुला हुने यो आईपीओ सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा फागुन १२ गतेसम्म विक्रीमा रहनेछ । सर्वसाधारणमा आईपीओ जारी हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेकाले कम्पनीको आईपीओ फागुन २ गतेसम्म मात्र विक्रीमा रहने देखिन्छ ।
शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । कम्पनीले इलाम जिल्लामा ६ दशमलव २ मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७८ साल कात्तिक १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको कुल लागत १ अर्ब ३१ करोड रूपैयाँभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड १५ लाख ३७ हजार रूपैयाँभन्दा बढी छ ।
अधिकृत पूँजी ३४ करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी पनि ३४ करोड रूपैयाँ नै रहेको छ । संस्थापकतर्फबाट चुक्ता भएको पूँजी २२ करोड २० लाख रूपैयाँ रहेको कम्पनीको सर्वसाधारणमा समेत सम्पूर्ण कित्ता आईपीओ जारीपश्चात् ३४ करोड रूपैयाँ चुक्तापूँजी कायम हुनेछ । संस्थापकतर्फ ६५ दशमलव २९ प्रतिशत शेयर स्वामित्व कायम रहेको हो । १० प्रतिशत आयोजना प्रभावित स्थानीयको र २४ दशमलव ७१ प्रतिशत वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसमेतको स्वामित्व रहनेछ ।
कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाबाट व्यापारिक उत्पादन शुरू गर्न थालेको एक वर्ष बितिसक्दा कम्पनी सञ्चित नोक्सानीमै रहेको छ । आर्थिक वर्ष २०७७/ ७८ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी ६ लाख ५६ हजार रूपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।
वास्तविक वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रूपैयाँ ६० पैसा रहेको छ । गत आर्थिक वर्ष २०७८/ ०७९ सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार भने कम्पनी २ करोड २९ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्ष २०७९/ ८० भित्र भने कम्पनीले १ करोड ५४ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।