काठमाडौं (अस) । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सुरक्षा, पूर्वाधार तथा सेवा सुविधालगायत विषयको एयरपोर्ट काउन्सिल इण्टरनेशनल (एसीआई) ले निरीक्षण गरेको छ । टोलीले हालै विमानस्थलका विभिन्न पक्षको अध्ययन गरी व्यवस्थापनलाई सुझाव दिएको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
एयरपोर्ट काउन्सिल इण्टरनेशनल (एसीआई) को विज्ञ समूहद्वारा विमानस्थलको निरीक्षण गरिएको यो पहिलो पटक हो । यो संस्था विश्वभरि रहेका विमानस्थलको छाता संस्था हो । विज्ञ समूहले ५ दिन लगाएर विमानस्थलको अध्ययन निरीक्षण गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । विज्ञले दिएको सुझावका आधारमा विमानस्थलले सुधार गर्नुपर्ने विषय वा काम भइसकेको र यसले समग्र उड्डयन क्षेत्रलाई फाइदा पुग्ने महाप्रबन्धक क्षेत्रीले बताए । यो सुझाव कार्यान्वयन गर्दा २०१९ मा हुने अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) सेफ्टी अडिटलाई समेत सहयोग पुग्ने उनले जानकारी दिए ।
विमानस्थलको अनुगमनमा इर्मेन्दो सिल्भा, राजेश नुम्बायुड्याथ, मोहम्मद फैजल अब्दुल करीम, डिन्क गेउकेने, महादेवा भेरियर गिरिशन, पुभेल्ली सुकुमारन, अजित कुमार र राकेश कुमार सहभागी रहेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । आइकाओले गर्ने अडिटमा राम्रो अवस्थामा पुगे यूरोपियन युनियन (ईयू) को कालोसूचीबाट हटाउनसमेत सहयोग पुग्नेछ । त्यसैले, यो निरीक्षण नेपालका लागि लाभदायी हुने विश्वास महाप्रबन्धक क्षेत्रीको छ । आईकाओले २०७४ साउनमा नेपाललाई कालोसूचीबाट हटाएको थियो । तर, ईयूले अझै कालोसूचीबाट हटाएको छैन । ईयूले कालोसूचीबाट नहटाएकै कारण नेपाली विमानले ईयूमा आबद्ध देशमा उडान गर्न पाएका छैनन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.