‘नो कण्ट्री लेफ्ट विहाइण्ड’ अर्थात् कुनै पनि देश पछाडि नपरून् भन्ने नारासहित शुक्रवार अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस मनाउँदै छ । आइकाओको आह्वानअनुरूप ७ डिसेम्बरलाई विश्वभर अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवसको रूपमा मनाउने गरिन्छ ।
संसारभरका नागरिक उड्डयन विभागहरू नागरिक उड्डयनमा सुरक्षा चासो र व्यवस्थापन तथा जनचेतनाका लागि यो दिवस मनाउने गर्छन् । सन् १९९४ देखि नै आइकाओले यो दिवस मनाउँदै आए पनि संयुक्त राष्ट्रसंघको महासभाले १९९६ डिसेम्बर ७ लाई अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवसको रूपमा घोषणा गरेपछि यसले राष्ट्रसंघीय मान्यता पाएको हो ।
हरेक देशले आफ्नो उड्डयन क्षेत्र सुरक्षित, विश्वसनीय र स्तरीय बनाउन यो दिवसको भूमिका रहने सम्बन्धित क्षेत्रका विज्ञहरूको राय छ । हरेक १५ देखि २० वर्षमा विश्वभर हवाई यात्रुको संख्या दोब्बर बढ्ने गरेको पाइन्छ । यो सन्दर्भमा नयाँ पुस्तालाई उड्डयन क्षेत्रमा आकर्षित गर्न र उड्डयन क्षेत्रबारे आममानिसमा चेतना फैलाउन यो दिवस फलदायी हुने उड््डयन अधिकारीको धारणा छ । यो दिन आइकाओले विश्वभर रहेका नागरिक उड्डयन विभागमा विभिन्न छलपफल, अन्तरक्रिया, प्रदर्शनी, सूचना सामग्रीको प्रस्तुतिलगायत गतिविधि सञ्चालन गर्दै आएको छ ।
फ्लाइट राडार २४ डटकमका अनुसार अहिले विश्वव्यापी रूपमा दैनिक १ लाख ७५ हजारदेखि २ लाख ओटासम्म उडान हुने गर्छ । आइकाओको प्रक्षेपणअनुसार अबको १५ वर्षमा हवाई यात्रुको आवागमन दोब्बर हुनेछ । यसले पनि यो दिवसको सान्दर्भिकता बढ्दै गएको र उड्डयन क्षेत्र थप सुरक्षित बनाउनुपर्ने आवश्यकता बढ्दै गएको छ ।
साताको अन्तरराष्ट्रिय उडान संख्या
संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको पछिल्लो तथ्यांकअनुसार विश्वभरका पर्यटकमध्ये ५६ प्रतिशतभन्दा बढीले हवाइयात्रा (विमानबाट) गर्ने गर्छन् । संस्थाको तथ्यांकअनुसार ३७ प्रतिशतले सडकबाट, ४ प्रतिशतले जलमार्गबाट र २ प्रतिशतले रेलबाट यात्रा गर्छन् ।
यसबाट पनि विश्वप्यापी रूपमा बढ्दै गएको हवाई यात्रा र यसको सुरक्षा संवेदनशीलतालाई महत्त्व दिनुपर्ने अवस्था छ । अहिले विश्वमा हरेक वर्ष १ अर्ब ३२ करोडभन्दा बढी मानिसले यात्रा गर्ने गरेको र यो क्रम संख्या वार्षिक ७ प्रतिशत बढेको संगठनको तथ्यांकमा उल्लेख छ ।