काठमाडौं । नेपाली आकाशमा विमानको निगरानी अत्याधुनिक प्रविधिको रेडियो डिटेक्शन एण्ड रेञ्जिङ (राडार) प्रणालीबाट हुँदै आएको छ । ललितपुरको भट्टेडाँडामा जडान गरिएको राडारले नेपाली आकाश थप व्यवस्थित र सुरक्षित बनाएको छ । भट्टेडाँडामा जडित ‘इनरूट राडार’ र विमानस्थल स्थित ‘टर्मिनल राडार’ले नेपालको कुल भूभागको करीब ७५ प्रतिशत क्षेत्र कभरेज भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । यसबाट उक्त क्षेत्रको आकाशमा हवाई गतिविधिको निगरानी सहज भएको प्राधिकरणले बताएको छ ।
जापान सरकारको सहयोगमा ललितपुरको भट्टेडाँडामा जडित ‘इन–रूट मोनोप्लस सेकेण्डरी सर्भिलेन्स राडार (एमएसएसआर)’ र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जडित टर्मिनल मोनोप्लस सेकेण्डरी सर्भिलेन्स राडार (टीएमएसएसआर) जडान गरिएको प्राधिकरणले जानकारी दिएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को १ अर्ब तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको १२ करोड लगानीमा यो राडार जडान गरिएको हो । गत वर्ष माघमा राडारको औपचारिक शुरुआत गरिएको थियो । यी दुवै राडारको काम गत नोभेम्बर १६ र १८ मा संयुक्त राज्य अमेरिकाको फेडरल एभिएशन एडमिनिष्ट्रेशनबाट आएको विमानमार्फत परीक्षण तथा चेकजाँच गरेपछि शुरू भएको थियो ।
धेरै भूभागलाई समेट्ने गरी नयाँ राडार जडान गरिएपछि नेपालको उडान थप सुरक्षित भएको प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले दाबी गरे । ‘नयाँ राडार उपकरणको सञ्चालनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल आवतजावत गर्ने सबै विमानको अवस्थाबारे जानकारी पाउन सहज भएको छ,’ उनले भने । भट्टेडाँडाको ८ हजार २ सय फिट (२ हजार ३ सय मिटर) उचाइमा जडान गरिएको इनरूट राडार र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जडित राडारले रेडियो तरंगमार्फत विमानको अवस्थिति, उचाइ, गतिजस्ता जानकारी गराउँछन् । भट्टेडाँडा त्रिभुवन विमानस्थलमा अवतरणका लागि आउने अन्तरराष्ट्रिय उडानको अवतरण गर्ने बाटोमा पर्छ ।
भट्टेडाँडामा जडित ‘इनरूट राडार’ ले नेपालको पूर्व सबै भूभाग र पश्चिममा सुर्खेतसम्मको विमान अवस्थाबारे जानकारी प्राप्त भइरहेको प्राधिकरणका उपनिर्देशक तथा आयोजना प्रमुख सञ्जीवसिंह कठायतले बताए । ‘पुरानो राडारमार्फत करीब १ सय १० किलोमिटर (६० नटिकल माइल) परसम्मको अवस्था थाहा पाउन सकिन्थ्यो,’ उनले भने, ‘भट्टेडाँडामा जडान गरिएको नयाँ राडारबाट ४ सय ५० किलोमिटर (२ सय ५० नटिकल माइल) सम्मको विमानको सम्पूर्ण जानकारी थाहा पाउन सकिन्छ ।’
नयाँ राडार सञ्चालनमा आएपछि उडिरहेका विमानबीचको दूरी घटेको छ । यो राडार जडानपछि आउने र जाने विमानले ५ देखि ९ किलोमिटरको अन्तर राखेर विमानले उडान अवतरण गर्नसक्ने कठायतले जानकारी दिए । यो राडार नराख्दासम्म २० देखि २८ किलोमिटर अन्तरको दूरी रहँदै आएको थियो । सन् १९९७ मा पहिलोपटक नेपाली आकाशलाई सुरक्षित बनाउन जापान सरकारको सहयोगमा राडार जडान गरिएको थियो । उक्त राडार पुरानो हुँदै गएको र स्पेयर पार्ट्स पनि बिग्रने अवस्थामा पुगिसकेकाले नयाँ राडार जडान गरिएको प्राधिकरणले जानकारी दिएको छ । यद्यपि, अहिले विमानस्थलमा भएका राडारले समेत ‘ब्याकअप’को रूपमा काम गरिरहेको बताइएको छ ।
हाल जडान गरिएका राडारले निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलसमेत कभरेज गर्छन् । यद्यपि, भैरहवामा आधुनिक प्रविधिको राडार जडानको योजना रहेको प्राधिकरणले बताएको छ । उक्त राडार जडानपछि सम्पूर्ण नेपाली आकाश राडारको निगरानीमा आउने कठायतले जानकारी दिए ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.