नेपाल विद्युतीय व्यवसायी महासंघले आज पुस ६ गते शुक्रवारदेखि मंगलवारसम्म राजधानीमा नवौं संस्करणको रूपमा ‘निक इलेक्ट्रो टेक–२०१८’ आयोजना गर्दै छ ।
नेपालमा वार्षिक ८० अर्ब रुपैयाँबराबरको कारोबार हुने विद्युतीय सामग्रीको व्यवसायलाई थप विकास गर्ने उद्देश्यले विद्युतीय सामग्रीको उत्पादन र कारोबार गर्दै आएका आन्तरिक तथा बाह्य कम्पनीहरूको सहभागितामा एक्स्पो आयोजना गरिएको हो । सन् १९९६ देखि हरेक २/२ वर्षमा नेपाल विद्युतीय व्यवसायी महासंघले यस्तो एक्स्पोको आयोजना गर्दै आएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा स्वदेशी तथा विदेशी विद्युतीय सामग्री उत्पादक कम्पनीहरू सहभागी हुने महासंघ अध्यक्ष तेजनारायण खरेलले जानकारी दिए । ‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ भन्ने नाराका साथ इलेक्ट्रोनिक्स सामग्रीको व्यापारमा सहजीकरण एवम् प्रवर्द्धनका लागि एक्स्पोले सहयोग पुर्याउने अपेक्षा आयोजकले गरेको छ । अध्यक्ष खरेलका अनुसार एक्स्पोमा इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवम् सूचना प्रविधि तथा विद्युतीय एवम् वैकल्पिक ऊर्जा उद्यमीहरूको जमघट गरी इलेक्ट्रोनिक्स उद्योगमा भएका नवीनतम उपलब्धिबारे उपभोक्तालाई एकै स्थानबाट सूचना दिइनेछ ।
नेपालमै विद्युत् ट्रान्सफर्मर उत्पादन गरी विदेशमा समेत निर्यात गर्दै आइरहेको नेपाल इकरात इन्जिनियरिङ कम्पनी (निक) को मुख्य प्रायोजनमा एक्स्पोको आयोजना हुन लागेको हो । ७७ ओटा प्याभिलियन तथा स्टल रहने एक्स्पोमा विद्युत्का लागि आवश्यक नेपाली तथा बहुराष्ट्रिय कम्पनीका उत्पादन रहने महासंघका प्रथम उपाध्यक्ष एवम् एक्स्पो संयोजक सुदर्शनप्रसाद पौड्यालले जानकारी दिए ।
नवौं संस्करणको एक्स्पोमा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवम् कन्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, नवीनतम सूचना प्रविधि, वैकल्पिक ऊर्जा, वायरलेश टेक्नोलोजी, सेन्सरयुक्त र सुरक्षासम्बन्धी जानकारी भएका विद्युतीय सामग्रीको प्रदर्शन हुनेछ ।
आठौं संस्करणको ‘निक इलेक्ट्रो टेक–२०१६’ मा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो । त्यसबेला विशेषगरी अन्तरराष्ट्रिय ब्राण्डका स्टलमा भीड लागेको थियो । विगतमा जस्तै यस पटक पनि स्वदेशी तथा विदेशी विद्युतीय सामग्री र सेवाबारे उत्पादक, विक्रेता, उपभोक्ता, विज्ञ र परामर्शदातालाई एकै थलोबाट पर्याप्त जानकारी प्रदान गर्नु मेलाको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ । व्यवसायी, नीतिनिर्माता र सरोकारवाला पक्षबीचको सम्बन्ध विस्तार गर्ने र विद्युतीय सामग्रीको बजार विस्तारमा मेला सहयोगी हुने बताइएको छ ।
मेलाले मुलुकमा नयाँ प्रविधि तथा अन्तरराष्ट्रिय लगानी भित्र्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । मेलामा ट्रान्सफर्मर, तार, स्विच, बोर्ड, प्लग, मल्टिप्लग, हिटर, एयर कन्डिसनर, चिम, लाइट, विद्युतीय ब्याट्री, इन्भर्टरलगायत विद्युतीय सामग्री प्रदर्शनीमा राखिने बताइएको छ ।
आयोजकका अनुसार प्रदर्शनीको यस वर्षको नारा ‘आर्थिक समृद्धिको संवाहक ऊर्जा’ तय गरिएको छ । ‘निक इलेक्ट्रो टेक–२०१८’ मा हलभित्र ५१ ओटा ब्लक र हलबाहिर २६ ओटा स्टल गरी जम्मा ७७ ओटा प्याभिलियन तथा स्टल रहनेछन् ।
नेपाली उत्पादनलगायत बहुराष्ट्रिय कम्पनीका उत्पादन, ट्रान्समिसन तथा डिस्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवम् कन्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिनेछ ।
निक इलेक्ट्रो टेक विद्युतीय क्षेत्रको एउटा महŒवपूर्ण प्रविधि तथा उपकरण प्रदर्शन गर्ने व्यावसायिक मेला हो । ५ दिनसम्म चल्ने इलेक्ट्रो टेक मेलामा पछिल्ला प्रविधियुक्त गुणस्तरीय विद्युतीय सामग्री प्रदर्शन गरिनुका साथै सरोकारवालासँग त्यसको गुणस्तरीयता तथा सुरक्षाबारे छलफल गर्ने कार्यक्रम रहेको छ । यसले व्यावसायिक क्षेत्रका नयाँ प्रयोग र अन्य पक्षबारे अद्यावधिक गर्नेछ ।