काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा एसईई शुरु भएको छ । परीक्षा बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन भएको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको संख्या ४९ हजार २८६ जना बढेको छ ।
परीक्षामा १५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष र २० जना विद्यार्थी बराबर एकजना निरीक्षक खटाउने प्रबन्ध गरिएको छ ।
परीक्षामा ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार देशभरका केन्द्रमा शान्तिपूर्णरूपमा परीक्षा सञ्चालन भइरहेको छ । हालसम्म कुनै पनि केन्द्रमा समस्या आएको जानकारी नभएको उनले बताए ।
यस वर्षको एसईई यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । राससको सहयोगमा