काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडको कार्यालय, नागपोखरी, काठमाडौंमा आइतवार बिहान कम्पनीको आईपीओ बाँडफाँट कार्यक्रम सम्पन्न भएको हो ।
कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो । विक्री प्रबन्धकका अनुसार आईपीओ खरीदका लागि कुल १८ लाख ३० हजार ८५७ जनाको आवेदन परेको थियो । कुल आवेदकमध्ये रितपूर्वक नभएको ८ हजार ४५२ जनाको आवेदन रद्द गरिएको छ ।
रितपूर्वक आवेदन दिएका १८ लाख २२ हजार ४०५ जना आवेदकलाई गोलाप्रथामा समावेश गराई आईपीओ बाँडफाँट गरिएको हो । जसअनुसार १ लाख ८४ हजार ५०० जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।
कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।
नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कम्पनीलाई सर्वसाधारणमा कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
कुल कित्ता आईपीओमध्ये २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि, ६७ हजार ५०० कित्ता कम्पनीका कर्मचारीको लागि वितरण गरी बाँकी रहेको १८ लाख ४५ हजार कित्ता शेयर भने सार्वजनिक निष्कासन गरिएको थियो ।
यो कम्पनी डिजिटल प्रविधिबाट बीमालेख जारी गर्ने नेपालको पहिलो लघुबीमा कम्पनी हो ।
अधिकृत पूँजी ८० करोड रुपैयाँ रहेको कम्पनीको जारी पूँजी ७५ करोड रुपैयाँ छ । संस्थापकतर्फ चुक्ता भएको पूँजी ५२ करोड ५० लाख रुपैयाँ छ । सर्वसाधारणमा ३० प्रतिशत आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ७५ करोड रुपैयाँ कायम भएको छ ।
कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम पूँजी वृद्धिका लागि आईपीओ निष्कासन गरेको हो ।
गत आर्थिक वर्ष ०८०/८१ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी २७ लाख ५० हजार रुपैयाँ सञ्चित नाफामा छ । अघिल्लो आर्थिक वर्ष ०७९/८० को वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ ३४ पैसा छ । चालू आर्थिक वर्ष ०८१/८२ सम्म कम्पनीले ८४ लाख १४ हजार रुपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।