काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर लगातार १६औं कारोबार दिनसम्म सर्किट लेभलमा कारोबार भइरहेको छ । यस कम्पनीको शेयर मूल्य दोस्रो बजारमा कारोबार आएकै दिनदेखि १० प्रतिशतका दरले वृद्धि भइरहेको छ । कम्पनीको शेयर मूल्य मंगलवार (आज) प्रतिकित्ता रू. १ हजार ३८२ मा कारोबार भइरहेको छ ।
नेपाल बीमा प्राधिकरणले लघु बीमाको छुट्टै कारोबार गर्ने उद्देश्यले जीवन र निर्जीवन गरी ७ ओटा कम्पनीलाई कारोबार अनुमति दिएको थियो । गार्डियन माइक्रो लाइफले पहिलोपटक आईपीओ निष्कासन गरेर धितोपत्रको दोस्रो बजारमा माघ २७ गतेदेखि शेयर कारोबार शुरु गरेको हो ।
‘जीएमएलआई’ स्टक संकेत पाएको कम्पनीलाई नेप्सेले रू. १०० दशमलव ३४ देखि ३०१.०२ सम्ममा पहिलो कारोबार गर्न कारोबार रेञ्ज दिएको थियो । सोही मूल्यलाई आधारमा मानेर माथिल्लो मूल्यमा कम्पनीको शेयर कारोबार खुला भएको थियो ।
पछिल्लो समय कम चुक्ता पुँजी भएका कम्पनीको शेयर मूल्यमा लगानीकर्ताको बढी आकर्षण देखिन्छ । सेबोनको आईपीओ बाँडफाँट प्रणालीमा सबै लगानीकर्तासँग १० कित्ताभन्दा बढी शेयर नहुने हुँदा अहिले शेयरको आपूर्ति खासै नहुँदा यस कम्पनीको मूल्य बढ्ने क्रमले निरन्तरता पाएको जानकार बताउँछन् ।
यस कम्पनीको कुल ७५ लाख कित्ता शेयर सूचीकृत रहेको छ । जसमध्ये २२ लाख ५० हजार कित्ता सर्वसाधारणको शेयर रहेको छ भने बाँँकी संस्थापकको छ ।