काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आगामी चैत ११ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
सर्वसाधारणमा गत पुस २१ गतेदेखि २४ गतेसम्म आईपीओ जारी गरी माघ ६ गते बाँडफाँट गरेको कम्पनीले दोस्रो वार्षिक साधारण सभा आह्वान गरेको हो । फागुन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मोरङको विराटनगरस्थित होटेल एयरपोर्टमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ ।
हाल ७५ करोड रुपैयाँ चुक्तापूँजी कायम भइसकेको कम्पनीले आगामी दिनमा पनि पूँजी वृद्धिका सम्बन्धमा नियामक निकायबाट कुनै निर्देशन भएमा त्यसको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभामार्फत गराउनेछ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्ताव गरेको कम्पनीले अन्य कुनै इन्स्योरेन्स कम्पनीसँगै मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी पनि सभाबाट प्रदान गर्नेछ । सर्वसाधारण शेयरधनीहरूको तर्फबाट दुई जना सञ्चालक निर्वाचन तथा नियुक्ति गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २६ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा फागुन २५ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।