काठमाडौं । घोराही सिमेन्टको आईपीओ आज (आइतवार) बाँडफाँट भएको छ । विक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्टले आज दिउँसो नक्सालस्थित नबिल इन्भेष्टमेन्टको कार्यालयमा शेयर बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा कुल ५ लाख ८१ हजार ५४६ जना आवेदकबाट १ करोड ३ लाख २४ हजार २६० कित्ताका लागि आवेदन परेको थियो, जसमध्ये ५ लाख ५७ हजार ७ सय १ जना आवेदकको आवेदन मात्र योग्य छन् ।
आवेदन दिएका सबै आवेदकले शेयर पाएका छन् । आवेदकले न्यूनतम १० देखि अधिकतम ८० कित्तासम्म शेयर पाएका हुन् ।
शेयर बाँडफाँट मोडल अनुसार १० कित्तादेखि ७० कित्तासम्मको लागि आवेदन दिने ५ लाख ५३ हजार ४४ जना आवेदकले माग गरेबमोजिमकै शेयर पाएका छन् ।
त्यस्तै ८० कित्तादेखि ३० हजार कित्ताको लागि आवेदन दिने ४ हजार ६ सय ५७ जनाले समान ७० कित्ता शेयर पाएका छन् । बाँकी रहेको ६ हजार ९ सय १० कित्ता शेयर गोलाप्रथामार्फत बाँडफाँट गरिएको छ । जसअनुसार ७० कित्ता शेयर पाएका ४ हजार ६ सय ५७ जना मध्येबाट ६ सय ९१ जनाले थप १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले कुल ८० कित्तासम्म शेयर पाएका छन् ।
कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ निष्कासन गरेको थियो । फर्जी आवेदनका कारण असार ४ गतेदेखि रोकिएको आवेदन असार २२ गतेदेखि पुनः खुला भएको थियो ।