काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी पूरा गरेको क्यापिटलले कम्पनीको शेयर व्यवस्थापनसम्बन्धी सम्पूर्ण काम गर्ने जिम्मेवारीसमेत पाएको छ ।
सञ्चालक समितिको निर्णयबमोजिम शेयर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्य गर्नका लागि क्यापिटललाई जिम्मेवारी दिइएको कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।
कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरी असार ३१ गते बाँडफाँट गरेको थियो । धितोपत्र दोस्रो बजारमा भने कम्पनीको आईपीओ सूचीकृत हुन बाँकी छ । शेयर रजिष्ट्रारको समन्वयमा दोस्रो बजारमा शेयर सूचीकृत गराउने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले प्रिमियम मूल्यसहित सर्वसाधारणमा प्रतिकित्ता ४३५ रुपैयाँ र उद्योग प्रभावित स्थानीयमा प्रतिकित्ता ४०० रुपैयाँमा आईपीओ विक्री गरेको हो ।
सर्वसाधारणमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बाँडफाँट गरेको कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानीकोषमा ३ लाख २८ हजार ९६१ कित्ता, कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूमा ७७ हजार २९० कित्ता आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीमा संस्थापकतर्फ भने ३ अर्ब १७ करोड ७५ लाख २० हजार ५०० रकम चुक्ता भएको छ । संस्थापक तर्फको समेत कुल ३ अर्ब ९७ करोड १९ लाख ६०० बराबरको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता शेयर दोस्रो बजारमा सूचीकृत हुनेछ ।