काठमाडौं । ग्रीन डेमलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष लगानीकर्ताको हात खाली बनाएपनि यस वर्ष भने ५ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश सहित अन्य विविधि प्रस्ताव पारितका लागि चैत २७ गते कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते एक दिन बुक क्लोज गर्न लागेकाले बुक क्लोजको आधारमा चैत १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुने भएका हुन । हाल कम्पनीको चुक्तापूँजी ५३ करोड ८७ लाख २२ हजार रुपैयाँ छ । हालसम्मको लाभांश वितरणको इतिहासमा यस अघि कम्पनीले दुई आर्थिक वर्ष लाभांश वितरण गरेको देखिन्छ । आर्थिक वर्ष ०७६/७७ र ०७८/७९ मा समान अनुपातमा कम्पनीले ३ दशमलव ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव २ प्रतिशत लाभांश वितरण गरेको थियो ।
अघिल्ला दुई आर्थिक वर्षभन्दा कम्पनीले बढी लाभांश यो वर्ष वितरण गर्न लागेको हो । बोनस शेयर वितरणपछि कायम चुक्तापूँजी ५६ करोड ९६ लाख ९८ हजार ५०० रुपैयाँका आधारमा १०७ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पनि कम्पनीले गरेको छ । कम्पनीले १ बराबर १ दशमलव १०७१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो ।