काठमाडौं । नेपालमा पहिलोपटक हरित ऋणपत्र (ग्रिन बण्ड) जारी गरिएको अवसरमा कार्यक्रम आयोजना गरिएको छ ।
ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई)को प्राविधिक सहयोग र कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी (केओआईसीके) आर्थिक सहयोगमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले उक्त बण्ड जारी गरेको हो ।
निफ्रा ग्रिन इनर्जी बन्ड ६%(२०८८/०८९) नाम दिइएको यो बन्ड ७ वर्षे अवधिको लागि जारी गरिएको हो । जारी गरिएको उक्त बण्ड ५ अर्ब रुपैयाँ बराबर (अन्दाजी ३६ मिलियन अमेरिकी डलर) को हो ।
बन्ड जारी भएको अवसरमा जीजीजीआई नेपालले विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा सरकारका प्रतिनिधिहरू, नियामक निकायहरू, विकास साझेदारहरू तथा निजी क्षेत्रका उच्च अधिकारीहरूको सहभागिता थियो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले जलवायु परिवर्तनविरुद्धको नेपालको प्रतिबद्धता स्मरण गराउँदै दातृ निकाय र सरोकारवालाबीच सहकार्यको आवश्यकता औंल्याए । उनले राष्ट्रिय रुपमा निर्धारण गरिएका योगदान, राष्ट्रिय अनुकूलन योजना र कार्बन कारोबार जस्ता नीतिहरूको प्रभावकारी कार्यान्वयनमा यस्तो बन्डले सघाउ पुर्याउने विश्वास व्यक्त गरे।
कोरियाली राजदूत टे-योङ पार्कले नेपालको पहिलो हरित बन्ड सफलतापूर्वक जारी भएकोमा बधाई दिए ।
अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा ले नेपाललाई दक्षिण एसियामा दिगो वित्तको क्षेत्रीय नेतृत्वकर्ताको रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गरे। उनले हरित बन्डलाई जलवायु लक्ष्य र दिगो विकास लक्ष्य प्राप्तिको लागि एक महत्वपूर्ण सेतुको संज्ञा दिए।
केओआईसीके नेपाल प्रमुख मूहिओङ कोङले बन्डले नेपालको आर्थिक वृद्धि जलवायु जिम्मेवारीसँग मेल खाने दिशामा अघि बढेको प्रमाण भएको बताए।
जीजीजीआई नेपालकी प्रमुख प्रतिनिधि लौरा जालास्जोकी ले निफ्रा, केओआईसीके र जीजीजीआईको सहकार्यबाट प्राप्त ५ अर्ब रुपैयाँ हरित परियोजनामा लगानीको मार्ग खुलेको उल्लेख गरिन् ।
यससँगै, नेपालले हरित वित्त प्रणालीमार्फत जलवायु परिवर्तनविरुद्धको संघर्षमा एक ठोस पाइला चालेको छ। यो बन्डले देशलाई दिगो र वातावरणमैत्री पूर्वाधार निर्माणमा अग्रसर बनाउने विश्वास गरिएको छ।