चितवन । संघीय बजेट २०८२/८३ मा कर कानूनमा व्यापक परिवर्तन भएकाले त्यसप्रति सचेत रहन व्यवसायीहरूलाई आग्रह गरिएको छ । नारायणगढ जेसीजद्वारा सोमवार नारायणगढमा आयोजित ‘संघीय बजेट २०८२/८३ अन्तर्गत कर कानूनमा प्रमुख परिवर्तन र तिनको प्रभाव’ विषयक अन्तरक्रियात्मक कार्यक्रममा करसम्बन्धी विज्ञहरूले व्यवसायीलाई सचेत भएर अघि बढ्न सुझाव दिएका हुन् । उनीहरूले करप्रति डर होइन, समझदारी आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रमका संयोजक तथा सहप्रशिक्षक सीए विकास तिवारी र अर्का प्रशिक्षक सीए विशाल भट्टराईले कर कानूनमा भएका मुख्य परिवर्तनबारे सहभागी व्यवसायीहरूलाई जानकारी गराएका थिए । कार्यक्रममा १८ वर्षदेखि ४० वर्षसम्मका युवा उद्यमीहरूको सहभागिता थियो ।
नारायणगढ जेसीजको सचिवालयमा आयोजित उक्त कार्यक्रममा सहभागी व्यवसायीहरूले करसम्बन्धी जिज्ञासा व्यक्त गरेका थिए । नारायणगढ जेसीजका अध्यक्ष रवीन्द्रकुमार श्रेष्ठले करसम्बन्धी भएका परिवर्तनहरू व्यवसायीहरूकै हितमा भएको बताउँदै भने, ‘सचेत बनेर व्यवसाय गरौं, करसँग डराएर भाग्ने होइन, त्यसको अध्ययन गरी जिम्मेवार बनौं । करबारे राम्रोसँग जान्ने व्यवसायीहरू सफल भइरहेका छन् ।’ जेसीजका पूर्वअध्यक्ष विकासमान श्रेष्ठले यस्ता कार्यक्रमले व्यवसायीहरूमा करप्रति सचेतना फैलाउन मद्दत पुग्ने बताए । कार्यक्रममा प्रमुख प्रशिक्षकको रूपमा आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख पुण्यविक्रम खड्काले हालको कर दर, करको दायरा लगायत विषयमा प्रस्ट पारे ।