काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत् आयोजनाको लागि फाइनान्सियल क्लोजरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
यस आयोजनाको प्रवर्द्धक कम्पनी सौर्य होल्डिङ प्रा.लि. र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो ।
उक्त सम्झौताअनुसार यस आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा बनेको कन्सोर्टियमले ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी गर्नेछ ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेश अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेश अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङ प्रा.लि.का प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन वृद्धि भई निर्यात प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
ताप्लेजुङ्ग जिल्लाको माथिल्लो मेवा खोलामा निर्माण हुने ३१.९२ मेगावाट क्षमताको यस जलविद्युत आयोजनाको अनुमानित लागत ६ अर्ब ३७ करोड रुपैयाँ छ ।
सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ ।
यो आयोजना निर्माण शुरु भएको मितिबाट ३ वर्षभित्र सम्पन्न हुनेछ ।
बैंकको ७७ जिल्लामा रहेका ३५२ शाखा कार्यालय, ३८५ एटीएम, १५८ शाखारहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ ओटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको जनाएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।