काठमाडौं । हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडको आईपीओले रू. ९५ दशमलव ०९ देखि २८५ दशमलव २७ सम्मको ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. ९५ दशमलव ०९ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो ।
नेपाल स्टक एक्सचेन्जले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो । कम्पनीको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा छ ।
कम्पनीको आईपीओ गत मंगलवार बाँडफाँट भएको थियो । कम्पनीको आईपीओमा १ लाख २१ हजार ३८७ जना आवेदकले २० कित्ताका दरले शेयर प्राप्त गरेका थिए भने पहिलो चरणको आईपीओ बाँडफाँटपछि बाँकी रहेको १० कित्ता आईपीओ १ कित्ताका दरले थप १० जनाले प्राप्त गरेका थिए ।
कम्पनीले भदौ २१ देखि २५ गतेसम्म २४ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँमा आईपीओ निष्कासन गरेको हो ।