काठमाडौँ । नेपालको पर्यटन प्रवर्द्धन गर्न अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को पाँचौँ संस्करण आज होटल सोल्टीमा शुरु भएको छ ।
प्यासिफिक एशिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन सङ्घ, संस्था र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा सो मार्ट आयोजना गरेको हो । मार्टमा ३० भन्दा बढी देशका १०० भन्दा बढी विदेशी पाहुनासहित पर्यटनकर्मी, सरोकारवाला गरी ७०० प्रतिनिधिको सहभागिता छ ।
यही जेठ २२ गतेसम्म मार्ट सञ्चालन हुने जनाइएको छ । मार्टअन्तर्गत आज पहिलो दिन ‘माउन्टेन माइलस्टोन र मोमेन्टम’ विषयक सम्मेलन आयोजना गरिएको छ । सो सम्मेलनका वक्ताहरूले पर्यटन उद्योगको विकासका लागि एकीकृत प्रयास र अभ्यासका माध्यमबाट अगाडि बढ्नुपर्नेमा जोड दिए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका गन्तव्यलाई विश्वसामु उजागर गर्दै दीगो पर्यटन विकासका लागि मार्ट उपयोगी हुने बताए । उनले पछिल्लो समय पर्यटनका नयाँ क्षेत्रहरू थपिँदै गएको उल्लेख गरे ।
“करिब ३० वर्षअघि नेपालको ग्रामीण क्षेत्र ७० प्रतिशत थियो तर अहिले यो अनुपात ५०/५० प्रतिशत भएको छ”, सीईओ जोशीले भने, “हामी जति शहरीकरणतर्फ गइरहेका छौँ, पर्यटन त्यति नै प्रकृतिमा आधारित बन्दै गएको छ ।”
सम्मेलनमा पाटाका आजीवन सदस्य एन्ड्रियो जोन, पाटा बङ्गलादेश च्याप्टरका अध्यक्ष साहिद हमिद, नायिक निशा अधिकारीले आफ्ना धारणा राखेका थिए ।
मार्टका संयोजक एवम् पाटाका महासचिव नरेन्द्रदेव भट्टले अन्तरराष्ट्रिय स्रोत बजारमा सशक्त सम्बन्ध सञ्जाल स्थापित गराई नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन मार्ट आयोजना गरिएको बताए । सन् २०१७ देखि प्रत्येक वर्ष जुनमा आयोजना हुँदै आएको मार्ट नेपालको प्रमुख अन्तरराष्ट्रिय पर्यटन व्यापार मेला हो । कार्यक्रमले विश्वव्यापी पर्यटन र आतिथ्य संस्था, पेशेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर प्रदान गर्ने विश्वास गरिएको महासचिव भट्टको भनाइ छ ।
मार्टअन्तर्गत सञ्चालित सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ताले आध्यात्मिक, साहसिक र ‘लक्जरी’ पर्यटन, दीगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनका उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गर्नेछन् ।
त्यसैगरी बीटूबी कार्यक्रमअन्तर्गत यसवर्ष मार्टले संयुक्त राज्य अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, रसिया तथा सीआईएस राष्ट्रबाट ६० भन्दा बढी क्रेता र नेपाल, भारत, भुटान, चीन, बङ्गलादेश र श्रीलङ्का गरी ६ ओटा गन्तव्य राष्ट्रबाट सहभागी हुने ६५ बढी विक्रेता सहभागी हुने पाटा नेपालले जनाएको छ । रासस