
काठमाडौं । नेपालमा उत्पादित हस्तकला सामग्रीको निर्यात फेरि बढ्न थालेको छ । आर्थिक वर्ष २०७२/७३ मा शून्य दशमलव ४८ प्रतिशतले घटेको निर्यात गत आव २०७३/७४ मा भने १३ प्रतिशतले बढेको नेपाल हस्तकला महासङ्घले बताएको हो । अन्तरराष्ट्रिय बजारमा नेपाली हस्तकलाको उच्च माग छ । आव २०७२/७३ मा कुल ४ अर्ब ७६ करोड रुपैयाँबराबरको विभिन्न प्रकारका हस्तकला सामग्री विदेश निर्यात भएका थिए । गत आवमा भने निर्यातमा १३ प्रतिशतले वृद्धि भई रू. ५ अर्ब ३९ करोडबराबरको हस्तकला सामग्री निर्यात भएको छ ।
पछिल्लो केही वर्षको तुलनामा गत आवमा हस्तकला निर्यातको अवस्थामा केही सुधार आएको महासङ्घका उपनिर्देशक ऋषिराज सुवेदीले बताए । उनका अनुसार हाल विदेशी बजारमा नयाँ प्रकारका हस्तकला सामग्रीको बढी माग हुन थालेको छ । सुवेदीले भने, ‘मुख्यगरी फेल्ट, अल्लोका सामग्री, मेटल क्राफ्ट, सिसाका सामग्रीलगायत उच्च मागमा रहेको र उक्त वस्तुको निर्यात मागअनुरूप नै भइरहेको छ ।’ पुराना एवम् परम्परागत किसिमका हस्तकला सामग्रीको माग भने घट्न थालेको छ । माग घटिरहेका सामग्रीमा पश्मिना, सिल्कका उत्पादन, चाँदीका सामान, छालाका सामानलगायत रहेको उनले जानकारी दिए ।
नेपालबाट विभिन्न २५ प्रकारका हस्तकलाका सामग्री विदेश निर्यात हुने गरेका छन् । अमेरिका, चीन, डेनमार्क, फ्रान्स, जर्मनी, क्यानडा, जापानलगायत अन्य खाडी मुलुकसमेत गरी नेपालबाट ६० देशमा हस्तकला सामग्री निर्यात हुने गरेको छ । नेपालबाट निर्यात हुने ती सामानको प्रमुख बजार अमेरिका रहेको महासङ्घले बताएको हो । महासङ्घका अनुसार चीन, जर्मनी, जापान, फ्रान्स, डेनमार्कलगायत बजारमा पनि हस्तकला सामग्रीको बढी माग रहेको छ । हरेक वर्ष हुने कुल निर्यातमध्ये ३० प्रतिशत भने अमेरिका निर्यात हुने गरेको महासङ्घले जानकारी दिएको छ ।
पछिल्लो समय हस्तकला क्षेत्रको विकास एवम् प्रवद्र्धन निकै चुनौतीपूर्ण बन्दै गएको उपनिर्देशक सुवेदीले बताए । कमजोर बजार प्रतिस्पर्धा, कच्चा पदार्थको अभाव र मेशिनरी उपकरणको बढीभन्दा बढी प्रयोगका कारण नेपाली हस्तकला सामग्रीले छुट्टै पहिचान बनाउन नसकेको कारण निर्यात बढाउन समस्या भएको उनको भनाइ छ ।
सरकारले हस्तकलाको क्षेत्रलाई प्राथमिकतामा नराखेको महासङ्घले बताएको छ । सरकारले यसै क्षेत्रका लागि भनेर छुट्टै बजेट विनियोजन नगर्दा धेरै समस्या उत्पन्न हुने गरेको व्यवसायीहरू बताउँछन् । सुवेदी भन्छन्, ‘सरकारले यस क्षेत्रलाई दिने बजेट घरेलु तथा साना उद्योगअन्तर्गत नै समावेश गरेर दिँदा मेला आयोजनाका लागि भनेर सीमित बजेट पाउने गरिएको छ । तर, उक्त रकम पर्याप्त भने छैन ।’
हस्तकला सामग्रीको निर्यातमा २ प्रतिशत मात्रै ‘इन्टेन्सिभ’ दिइएको र त्यो लिन पनि जटिल प्रक्रिया रहेको सम्बद्ध व्यवसायीको गुनासो छ । उनीहरूका अनुसार त्यस्तो इन्टेन्सिभ पहुँचवालाले मात्रै पाउने गरेका छन् । त्यस्तो इन्टेन्सिभ बढाएर कम्तीमा पनि १० प्रतिशत पुर्याइएमा निर्यातकर्ता उत्साहित हुने र निर्यातसमेत बढ्ने महासङ्घको दाबी छ ।
निर्यातमूलक उद्योगका रूपमा रहेको यस हस्तकला क्षेत्रको प्रवर्द्धनमा सरकारले ध्यान दिन नसकेको पनि महासङ्घको भनाइ छ । महासङ्घका अनुसार भौतिक पूर्वाधार एवम् प्रविधिको कमी र प्रशिक्षणको अभाव पनि यस क्षेत्रको समस्याका रूपमा रहेका छन् ।