वीरगञ्ज। वीरगञ्ज सुक्खा बन्दरगाह (ड्राइपोर्ट) बाट एउटा वस्तु घोषणा गरेर अर्कै वस्तु भित्त्याइने गरेको रहस्य खुलेपछि भन्सार विभागले जाँचपासको हरियो लेन नै हटाइदिएको छ । राजस्व छलीको सम्भावना नरहेका वस्तु जाँचपास हुने हरियो लेनको दुरुपयोग गरेर प्रतिबन्धित वस्तु आयात भएको रहस्य बाहिर आएपछि विभागको जोखिम मूल्यांकन समितिले उक्त लेन नै हटाइदिएको हो ।
भन्सारमा हरियो, पहेंलो र रातो लेनमा आयातित वस्तुको जाँचपास हुन्छ ।
हरियो लेनमा राजस्व चुहावटको सम्भावना नभएका वस्तु र औद्योगिक कच्चा पदार्थ पर्छन् । आयातकर्ताले यही लेनमा आउने वस्तु भन्दै सुपारी आयात गरेको भेटिएपछि अहिलेका लागि यो लेन नै हटेको सुक्खा बन्दरगाह भन्सारका सूचना अधिकारी सुशील शर्माले बताए ।
‘एउटा भनेर अर्कै सामान ल्याएको भेटिएपछि हामीले नै भन्सार विभागलाई आग्रह गरेर यो व्यवस्था हटाउन आग्रह गरेका हौं । अहिले पहेंलो र रातो लेनमा मात्रै जाँचपास भइरहेको छ,’ शर्माले भने राजस्व छल्ने सम्भावना नभएका वस्तु हरियो लेनमा आउँछ ।
यस्ता वस्तु आयातकर्ताको घोषणाकै भरमा भन्सार अधिकारीले जाँचपास गर्छन् । पहेंलोमा आयातसम्बद्ध कागजात जाँच हुन्छ । रातो लेनमा कागजात र मालसामान दुवैको जाँच गरेर मात्रै छोडिने भन्सार अधिकारी बताउँछन् ।
राजस्व चुहावट नहुने भनिएको हरियो लेनबाट आउने कुखुराको दाना र मुसुरो दालको कन्टेनरमा सुपारी, मासको दालमा पोस्ता दाना, हार्डवेयरका सामानमा स्कुटरलगायत सामान फेला परेको हो ।
केही व्यापारिक घराना, भन्सारका उच्च अधिकारी र सत्तासीन राजनीतिज्ञको मिलेमतोमा यस्तो धन्धा चलेको भन्सार अधिकारी बताउँछन् । सुक्खा बन्दरगाहमा विगत ४ वर्षदेखि अलपत्र छोडिएका कन्टेनर जफत गर्ने प्रक्रिया अघि बढेपछि यो रहस्य खुलेको हो ।
भन्सारले गत मङ्सिर १० गते त्यहाँ थन्किएका ४०० भन्दा बढी कन्टेनर लैजान सूचना निकालेको थियो । भन्सार हातामा प्रवेश गरेको ६० दिनभित्र मालसामान जाँचपास गराइसक्नुपर्ने प्रावधान भन्सार ऐनमा छ । यो समयभित्र जाँचपास नगराए जफत गर्न सकिने व्यवस्था छ ।
आयातकर्ता मालसामान लिन नआएपछि ती कन्टेर खोलर हेर्दा घोषणाभन्दा फरक वस्तु भेटिएको हो । भन्सार विभागका अधिकारीले वीरगञ्ज आएर कन्टेनर जाँचबुझ गरेका छन् । अधिकांश वस्तु कुहिएको र नष्ट गर्नुपर्ने अवस्थामा रहेको भन्सारले जनाएको छ । चार सयमध्ये सयभन्दा बढी कन्टेनरमा घोषणाभन्दा फरक वस्तु भेटिएपछि भन्सारले आयातकर्तालाई उपस्थित हुन पत्र काटेको छ ।
सरकारले २०७६ चैतमा सरकारले केराउ, मरिच, सुपारी, छोकडाजस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । त्यसैबेला तत्कालीन सत्ताधारी दलसम्बद्ध राजनीतिज्ञ, भन्सार विभागका उच्च अधिकारी, ड्राइपोर्ट भन्सारका कर्मचारी र व्यापारीको मिलेमतोमा प्रतिबन्धित वस्तु भित्त्याउने धन्धा चलेको ड्राइपोर्ट भन्सारका एक अधिकारीले बताए । यो प्रकरणमा तलदेखि माथिसम्म सेटिङ भएको दाबी ती अधिकारीले गरे । ‘सेटिङ नभई यो हदको बदमासी हुनै सक्दैन । सबै मिलेमतोमै भएको हो,’ पहुँचवाला र शक्तिशालीको मिलेमतोको काम भएकोले आफूलाई दु:ख दिन सक्ने भन्दै नाम उल्लेख नगर्ने शर्तमा ती कर्मचारीले भने ।