काठमाडौं । नेपालमा हुन्डाई सवारीसाधनको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्ज क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै विशेष अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा ग्राहकलाई प्रदान गर्दै आएको गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभर फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई नेपालले सम्पूर्ण उपभोक्ताको मन जित्दै आफूलाई नेपालको उत्कृष्ट अटो ब्रान्डको रूपमा स्थापित गरेको कम्पनीको दाबी छ ।
कम्पनीको अनुसार, नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारीबारे द्विविधा भएका ग्राहकलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ । धेरैलाई ईभी खरीद गर्दा स्पेयर पार्ट्सको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्रान्ड सपोर्टको विषयमा शंका हुने भए पनि क्रेटा तथा आईस दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरीद पछिको सेवा सुविधामा कुनै पनि समस्या नहुने कम्पनीको भनाइ छ ।
कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न शहरमा डिलरहरूसँग प्रत्यक्ष भेटघाट गरिरहेको बताइएको छ । सोही अभियानअन्तर्गत कम्पनीले ९ असारमा नेपालगञ्जमा आयोजित विशेष भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको हो । सो अवसरमा ४ भन्दा बढी युनिटको बुकिङ कन्फर्म गरिएको थियो, जसमा कार्यक्रम स्थलबाट चारओटा क्रेटा ग्राहकलाई हस्तान्तरण गरिएको थियो ।