काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३० प्रतिशत वृद्धि भएको छ ।
गत आवमा कम्पनीले रू. ६ करोड ७३ लाख नाफा कमाएकोमा चालू आवमा रू. ८ करोड ७९ लाख कमाएको हो । चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज ८० प्रतिशत घटेकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. १० करोड ३९ लाख रहेकोमा चालू आवमा रू. २ करोड १ लाख मात्रै रहेको छ ।
त्यस्तै, कम्पनीको सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा ९ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको सञ्चालन नाफा रू. १३ करोड ७८ लाख रहेकोमा चालू आवमा रू. १५ करोड ४ लाख रहेको छ ।
चालू आवमा कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८५ पैसा रहेकोमा चालू आवमा बढेर ८ रुपैयाँ ९५ पैसा पुगेको हो ।
चुक्ता पूँजी रू. ९८ करोड २५ लाख रहेको कम्पनीले पहिलो त्रैमासमा जगेडामा रू. १ अर्ब ७५ करोड र शेयर प्रिमियममा रू. ६ करोड ८२ लाख सञ्चिति गरेको छ । रिटेन्ड अर्निङमा भने रू. ३० करोड २८ लाख ऋणात्मक छ ।