मङ्सिर २७, काठमाडौं (अस) । चालू आर्थिक वर्षको प्रथम त्रैमासमा इन्भेष्टमेण्ट बैङ्कले रू. ४७ करोड ७३ लाख मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिको तुलनामा यो ६२ प्रतिशत बढी हो । गत आवको प्रथम त्रैमासमा बैङ्कको मुनाफा रू. २९ करोड ४८ लाख थियो । सोही अवधिमा बैङ्कको लगानी, निक्षेप, सञ्चालन मुनाफा र खुद ब्याज आय बढेकाले नाफा बढेको बैङ्कद्वारा प्रकाशित चालू आवको प्रथम त्रैमासको वित्तीय विवरणमा उल्लेख छ । गत आवको प्रथम त्रैमासमा रू. ४९ करोड ५९ लाख रहेको बैङ्कको खुद ब्याज आय चालू आवको सोही अवधिमा ३८ प्रतिशतले बढेर रू. ६८ करोड ६६ लाख नाघेको छ ।
समीक्षा अवधिमा बैङ्कको ब्याज आय ४ प्रतिशतले र ब्याज खर्च २४ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैङ्कले सम्भावित नोक्सानी व्यवस्थाका लागि छुट्ट्याएको रू. १६ करोड ४४ लाख पनि फिर्ता भएको छ । चालू आवको प्रथम त्रैमासमा बैङ्कको सञ्चालन मुनाफा ३० प्रतिशतले र कुल सञ्चालन आम्दानी ३४ प्रतिशतले वृद्धि भएको छ । चालू आवको प्रथम त्रैमासमा बैङ्कको चुक्ता पूँजी ३ अर्ब १ करोड नाघेको छ । सोही अवधिमा बैङ्कको सञ्चित कोष ५० प्रतिशतले र लगानी ३६ प्रतिशतले बढेको छ ।
गत आवको प्रथम त्रैमासमा रू. ५१ अर्ब ५९ करोड रहेको बैङ्कको निक्षेप चालू आवको सोही अवधिमा बढेर रू. ५४ अर्ब ४३ करोड नाघेको छ । मुख्य कार्यालय दरबारमार्गमा रहेको यस बैङ्कले हाल विभिन्न जिल्लामा ४१ ओटा शाखा र ६७ ओटा एटीएम काउण्टरमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । यो अवधिमा बैङ्किङ सेवातर्फ जनविश्वास बढेकाले चालू आवमा बैङ्कको निक्षेप बढेको हो । यो अवधिमा बैङ्कले ग्राहकका लागि विभिन्न बचत योजना सञ्चालन गरेकाले पनि बैङ्कको निक्षेपमा सकारात्मक प्रभाव परेको हो । साथै, बैङ्कले गुणस्तरीय सेवा प्रदान गर्नुका साथै थप नयाँ व्यावसायिक योजनाको विकास, लगानीका क्षेत्रको खोजी, व्यावसायिक सञ्जाल वृद्धि, व्यवसाय विविधीकरण तथा व्यावसायिक विकासका लागि शाखा विस्तारका साथै ग्राहकको चाहनाबमोजिम आधुनिक बैङ्किङ तथा वित्तीय सेवा तथा सुविधा शुरू गर्ने बैङ्कको योजना रहेको बैङ्कद्वारा प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।
चालू आवको प्रथम त्रैमासमा बैङ्कको कर्जा तथा सापटी ४ प्रतिशतले बढेर रू. ४४ अर्ब ४० करोड नाघेको छ । सोही अवधिमा बैङ्कको समग्र रियल इस्टेट क्षेत्रमा लगानी रू. ७ अर्ब ६५ करोड रहेको छ । समीक्षा अवधिमा बैङ्कको व्यक्तिगत आवास कर्जामा रू. ९६ करोड ७७ लाख कर्जा प्रवाह गरेको छ । सोही अवधिमा बैङ्कको आवधिक कर्जा ७ प्रतिशतले, अधिविकर्ष (ओभरड्राफ्ट) कर्जा ९ प्रतिशतले र ‘अन्य’ कर्जा ७ प्रतिशतले बढेको छ ।
गत आवको पहिलो त्रैमासमा १ दशमलव शून्य ३ प्रतिशत रहेको बैङ्कको खराब कर्जा चालू आवको सोही अवधिमा बढेर २ दशमलव २७ प्रतिशत रहेको छ । गत आवको पहिलो त्रैमासमा ७९ प्रतिशत रहेको बैङ्कको कर्जा–निक्षेप अनुपात चालू आवको सोही अवधिमा घटेर ७८ प्रतिशत पुगेको छ । सोही अवधिमा बैङ्कको सञ्चालन मार्जिन र मुनाफा मार्जिन गत आवको तुलनामा केही बढेको छ । सो अवधिमा बैङ्कको सञ्चालन मार्जिन शून्य दशमलव ४० र मुनाफा मार्जिन शून्य दशमलव ३३ प्रतिशत रहेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.