
काठमाडौं । इन्धन बोक्ने ट्याङ्करको बजनको जाँच (क्यालिबे्रशन) अब नेपालमै हुने भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले हेटौंडामा क्यालिब्रेशन जाँचका लागि भौतिक पूर्वाधार निर्माण गरेसँगै आगामी दिनमा ट्याङ्करको क्यालिब्रेशन जाँच नेपालमै हुने भएको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले हेटौंडामा अत्याधुनिक प्रविधिसहितको क्यालिब्रेशन युनिट तयार भइसकेको र यही महीनाभित्रै सञ्चालनमा आउने बताए । उनले भने, ‘क्यालिब्रेशनको टावरलगायत अन्य केही पूर्वाधार निर्माण भइसकेको छ ।’ सो कार्यमा करीब रू. ४५ लाख खर्च भएको बताइएको छ ।
युनिटमा अब रू. १ करोडको लगानीमा अन्य थुप्रै ससाना पूर्वाधार निर्माण हुने पनि महानिर्देशक पुडासैनीले जानकारी दिए । ती निर्माण कार्य पनि चाँडै नै पूरा हुने बताइएको छ । अहिले सो युनिटमा पानी तथा बिजुलीजस्ता अत्यावश्यक वस्तु जडान गर्ने काम भइरहेको छ । हाल नेपालमा इन्धन बोक्ने ट्या्ङकरको क्यालिब्रेशन भारतस्थित भारतीय आयल निगम (आईओसी)ले नै गर्दै आएको छ । विभागका अनुसार नेपाल आयल निगमले पनि आईओसीले गर्दै आएको क्यालिब्रेशनलाई नै मान्यता दिँदै आएको छ ।
आईओसीले गर्दै आएको क्यालिब्रेशनमा बेलाबेलामा इन्धनको परिमाण कम हुनेलगायत समस्या देखिने गरेको छ । तर, अबको दिनमा भने यस्तो समस्या नआउने विभागको भनाइ छ । नेपालमा हालसम्म यस्तो प्रकारको क्यालिब्रेशन युनिट नहुँदा क्यालिब्रेशन जाँचमा समस्या देखिँदै आएको थियो । उक्त युनिटको सञ्चालनसँगै यससँग सम्बन्धित विविध समस्या समाधान हुने र तोकिएभन्दा कम परिमाणको इन्धन आपूर्ति गरिनेजस्ता बदमासीसमेत नियन्त्रण हुने विभागको अनुमान छ । महानिर्देशक पुडासैनीका अनुसार युनिटबाट ट्याङ्करको क्यालिब्रेशनका साथै फ्लो मिटर र वाटर मिटरको समेत जाँच नेपालमै गर्न सकिनेछ ।
विभागका अनुसार ट्याङ्कर क्यालिब्रेशनका लागि वीरगञ्जस्थित कार्यालय र केन्द्रीय कार्यालयबाट प्राविधिक पठाइने व्यवस्था गरिएको छ । हालसम्म थोरैमात्रै ट्याङ्करको क्यालिब्रेशन हुने गरेकोमा युनिट सञ्चालनमा आएसँगै सबै खाली ट्याङ्करका साथै भारतबाट इन्धन बोकेर आउने ट्याङ्करको क्यालिब्रेशन हुने विभागले स्पष्ट पारेको छ ।
पुडासैनीका अनुसार सम्बद्ध व्यवसायीहरूले हरेक वर्ष आफ्नो ट्याङ्करको अनिवार्य रूपमा क्यालिब्रेशन गर्नुपर्ने व्यवस्था गरिएको छ । यसका लागि व्यवसायीले वार्षिक ५ हजार रुपैयाँ राजस्वबापत सरकारलाई बुझाउनुपर्ने व्यवस्था छ । युनिट सञ्चालनसँगै यी सबै व्यवस्था कडाइका साथ लागू गरिनेसमेत उनले जानकारी दिए ।