
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै बजारमा इन्धनको माग बढेको छ । पछिल्लो १ महीनाको अवधिमा सामान्य अवस्थामा भन्दा १५ प्रतिशत बढी इन्धन खपत भएको नेपाल आयल निगमले बताएको छ । निगम स्रोतका अनुसार सामान्यतया मुलुकभर दैनिक १ हजार २ सय किलोलिटर पेट्रोल खपत हुने गरेकोमा निर्वाचनका कारण हाल दैनिक १ हजार ४ सय किलोलिटर पेट्रोल खपत हुने गरेको छ ।
काठमाडौं उपत्यकाभन्दा पनि बाहिरका जिल्लामा पेट्रोलको खपत बढी भइरहेको निगम स्रोतको भनाइ छ । पहिलो चरणको निर्वाचन हुने जिल्लाहरूमा अहिले इन्धनको खपत बढी भइरहेको निगमले बताएको छ । पहिलो चरणको निर्वाचन मङ्सिर १० र दोस्रो चरणको निर्वाचन मङ्सिर २१ गते हुँदै छ ।
उम्मेदवारहरूले आआफ्नो प्रचार तीव्र पारेपछि बजारमा इन्धनको माग बढेको हो । पेट्रोलियम पदार्थको खपत बढेपछि निगमलाई आपूर्ति व्यवस्थापन गर्नसमेत निकै गाह्रो हुन थालेको निगमले बताएको छ । विगतका वर्षहरूमा दशैंतिहारपछि पेट्रोलियम पदार्थको खपतमा कमी आउने गरेकोमा यस वर्ष भने माग बढ्दो क्रममा रहेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । उनले भने, ‘निर्वाचन नजिकिँदै गर्दा पेट्रोल तथा हवाई इन्धनको माग १० देखि १५ प्रतिशतसम्म वृद्धि भएको छ ।
तर, डिजेलको माग भने सामान्य नै छ ।’ निर्वाचनका समयमा मुलुकमा भइरहेका विकास निर्माणको कार्य रोकिएकाले डिजेलको माग भने सामान्य रहेको उनले स्पष्ट पारे ।
इन्धन भण्डारण बढाउँदै
इन्धनको माग बढेसँगै निगमले इन्धन भण्डारण बढाउने तयारी थालेको छ । निगमका अनुसार हाल पेट्रोल, डिजेल तथा हवाई इन्धन गरी कुल साढे ३ लाख किलोलिटर मौज्दात रहेको छ । निगमका अनुसार उक्त मौज्दातले सामान्य अवस्थाको मात्रै माग धान्छ । आगामी दिनमा इन्धनको माग अझै बढ्न सक्ने अनुमान गर्दै निगमले डिपो क्षमताले धान्ने गरी पेट्रोलियम पदार्थ भण्डारण बढाउने बताएको छ ।
मुलुकमा कुनै पनि प्रकारको विपद्को अवस्था नआएमा पेट्रोलियम पदार्थको अभाव नहुने निगमको दाबी छ । उपत्यकामा मात्रै ३ हजार किलोलिटर पेट्रोल र ४ हजार ५ सय किलोलिटर डिजेल मौज्दात रहेको छ । साथै आयातको अवस्था हेर्दा काठमाडौंमा इन्धन अभाव नहुने निगमको ठहर छ । हाल काठमाडौंमा भने सामान्य रूपमा मात्रै इन्धन खपत बढेको छ ।