काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष (आव)को चाैथाे त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार गत आवको चाैथाे त्रैमासमा कम्पनी रू. १ करोड ४९ लाख नोक्सानीमा छ । गत आवको चाैथाे त्रैमासमा पनि कम्पनी रू. १ करोड ८ लाख नोक्सानीमा थियो । यस आधारमा अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको नोक्सानी बढेको छ ।
गत आवमा कम्पनीको विद्युत विक्री आम्दानी घटेकाले र खर्चमा वृद्धि भएकाले कम्पनी नोक्सानीमा रहेको हो । अघिल्लो आवमा कम्पनीले विद्युत विक्रीबापत रू. १२ करोड २२ लाख आम्दानी गरेकोमा गत आवमा घटेर रू. ११ करोड ९५ लाखमा झरेको छ । त्यस्तै कम्पनीको जम्मा खर्च अघिल्लो आवमा रू. ५ करोड ५६ लाख रहेकोमा गत आवमा बढेर रू. ५ करोड ९६ लाख पुगेको छ ।
गत आवमा कम्पनी नोक्सानीमा रहेसँगै प्रतिशेयर आम्दानी २ रुपैयाँ ४१ पैसा ऋणात्मक रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ७३ रुपैयाँ ७१ पैसा र तरलता अनुपात १ दशलमव ८५ प्रतिशत रहेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ६२ करोड छ । गत आवको चाैथाे त्रैमासमा कम्पनीको जगेडा कोष रू. १६ करोड २९ लाख ऋणात्मक छ ।