काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (वुधवार) अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले आज कार्यालय समयसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले सर्वसाधारणमा लागि सार्वजनिक निष्कासन मार्फत ६ लाख २३ हजार ३८९ कित्ता शेयर विक्रीमा ल्याएको हो । यसअघि आयोजना प्रभावित स्थानीयमा वितरण हुन नसकेको ५० हजार ३१० कित्ता शेयरसमेत जोडेर कम्पनीले सर्वसाधारणमा ६ लाख ७० हजार ३१० कित्ता शेयर वितरण गरेको हो । सार्वजनिक निष्कासनमा आएकोबाहेक कुल कित्ता शेयरमध्ये ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि र १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याइएको छ ।
सर्वसाधारणले सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीले भोजपुरमा ५ मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७६ जेठ २७ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ ।
अधिकृत चुक्तापूँजी रू. ६२ करोड रहेको कम्पनीको चुक्तापूँजी रू. ४९ करोड ६० लाख छ । सर्वसाधारणमा आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी रू. ६२ करोड कायम हुनेछ ।