काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म इष्टर्न हाइड्रोपावर लिमिटेडले १ करोड ५५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यस अवधिसम्म कम्पनीले ९९ लाख ८१ हजार रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा बढेको हो ।
यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी बढेसँगै खुद नाफा बढेको हो । गत वर्ष यस अवधिसम्म ४ करोड ५३ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ४ करोड ६६ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो ।
विक्री खर्च भने यस वर्ष ३६ लाख ९६ हजार रुपैयाँभन्दा बढी भएको छ । गत वर्ष ४१ लाख ८८ हजार रुपैयाँभन्दा बढी विद्युत विक्री खर्च भएको थियो । यस वर्ष विद्युत विक्री खर्च कम भएकाले पनि नाफा बढ्नमा सहयोग मिलेको हो ।
वित्तीय खर्च पनि यस वर्ष घटेको छ । गत वर्ष १ करोड ५८ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड ४० लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । दीर्घकालीन कर्जा ६५ करोड ६४ लाख रुपैयाँ रहेको कम्पनीको अल्पकालीन कर्जा २ करोड ४५ लाख रुपैयाँभन्दा बढी छ ।
हाल कम्पनीको चुक्ता पूँजी ६२ करोड रुपैयाँ छ । जगेडा कोष रकम भने १४ करोड ७२ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । पहिलो त्रैमाससम्म प्रतिशेयर आम्दानी २ रुपैयाँ ५१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ २४ पैसा छ ।