टोकियो । जापान एयरलाइन्सले बिहीवार आफ्नो प्रणालीमा साइबर आक्रमण भएको जानकारी गराएको छ । यसबाट घरेलु र अन्तरराष्ट्रिय उडानहरूमा ढिलाइ भएको भए पनि पछि समस्याको कारण पत्ता लगाई समाधान गरिएको एयरलाइन्सले जनाएको छ।
एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्या देखिएकाले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानहरू ढिलाइ भएका थिए । तर, कुनै सामूहिक रद्द वा ठूलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ। जापान एयरलाइन्स (जेएएल) देशको दोस्रो ठूलो एयरलाइन्स हो । पहिलोमा अल निप्पन एयरवेज (एएनए) छ।
'हामीले समस्याको कारण पत्ता लगाइ सम्बोधन गरिसकेका छौं। हामी प्रणाली पुनःस्थापनाको अवस्थाको जाँच गरिरहेका छौं,' जेएएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै भनेको छ, 'आज घरेलु र अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको छ। असुविधाका लागि हामी माफी चाहन्छौं।'
यसअघि बिहीवार जेएएलका प्रवक्ताले कम्पनीमाथि साइबर आक्रमण भएको बताएका थिए। खबर सार्वजनिक भएपछि जेएएलको शेयर मूल्य बिहानको कारोबारमा २.५ प्रतिशतसम्म घटेको थियो । तर, केही समयमै त्यसमा सुधार देखिएको थियो ।
स्थानीय समयअनुसार बिहीवार बिहान ७:२४ बजे नेटवर्क अवरोध शुरू भएको जेएएलले विज्ञप्तिमा उल्लेख गरेको छ। 'त्यसपछि बिहान ८:५६ बजे हामीले अवरोध सिर्जना गरिरहेको राउटरलाई अस्थायी रूपमा अलग गर्यौं,' विज्ञप्तिमा उल्लेख छ।
एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित हुने पछिल्लो जापानी कम्पनी बनेको छ। जापानको अन्तरिक्ष एजेन्सी जाक्साले सन् २०२३ मा अज्ञात संस्थाहरूले साइबर आक्रमण गरेको तर रकेट वा स्याटेलाइटसम्बन्धी कुनै संवेदनशील जानकारी प्राप्त नभएको जनाएको थियो।
त्यसै वर्ष जापानको व्यस्त बन्दरगाहमध्ये एक नागोया बन्दरगाह, र्यान्समवेयर आक्रमणबाट प्रभावित भएको थियो। यसको दोष रुसमा आधारित साइबर अपराध समूह लकबिटलाई दिइएको थियो।
जापानको साइबर आक्रमणविरुद्धको रक्षाका लागि जिम्मेवार एजेन्सी नेसनल सेन्टर अफ इन्सिडेन्ट रेडिनेस एन्ड स्ट्रेटेजी फर साइबरसिक्योरिटी (एनआइएससी) ले सन् २०२३ मा ह्याकरहरूले नौ महीनासम्म घुसपैठ गरेको खुलासा गरेको थियो।
सन् २०२२ मा सरकारले टोयोटा आपूर्तिकर्तामा अवरोधको पछाडि साइबर आक्रमण भएको बताएको थियो। यसले शीर्ष विक्री हुने अटो निर्मातालाई एक दिनका लागि घरेलु कारखानाहरू बन्द गर्न बाध्य तुल्याएको थियो।
हालै भिडियो साझेदारी वेबसाइट निकोनिकोले ठूलो स्तरको साइबर आक्रमणको प्रभावमा परेर जुन महीनामा आफ्ना सेवाहरू स्थगित गरेको जनाएको थियो। एजेन्सी