काठमाडौं । जापानका विदेशमन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले स्वागत गरिन् ।
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा विदेशमन्त्री खामिखावा नेपाल भ्रमणमा आएकी हुन् । जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो ।
भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नुहुनेछ ।
भ्रमणका क्रममा उनले काठमाडौं दरबार क्षेत्र र जमलस्थित मण्डला बुक प्वाइन्टको समेत अवलोकन गर्नेछन् । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।
विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायुसेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्नेछन् । रासस