नयाँ दिल्ली (भारत) । भारतमा लोकसभा चुनावअन्तर्गत चौथो चरणको मतदान शुरु भएको छ । जसअन्तर्गत १० राज्यका ९६ सिटमा बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।
यस चरणमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्व क्रिकेटर युसुफ पठान, अभिनेता तथा राजनीतिज्ञ शत्रुघ्न सिन्हासहित १ हजार ७ सय १७ उम्मेदवार चुनावी मैदानमा छन् ।
यस चरणमा कुल १७.७० करोड मतदाताले १९ लाखभन्दा बढी मतदान केन्द्रमा मतदान गर्नेछन्, जसमध्ये ८.९७ करोड पुरुष मतदाता र ८.७३ करोड महिला मतदाता छन् ।
भारतमा गत अप्रिल १९ मा पहिलो चरणको मतदान भएको थियो । यस्तै, अप्रिल २६ मा दोस्रो चरणको र मे ७ मा तेस्रो चरणको मतदान भएको थियो । भारतमा सात चरणमा हुन लागेको मतदान आगामी जुन १ मा सकिनेछ ।
कुल ५४३ सिटका लागि भइरहेको निर्वाचनअन्तर्गत अहिलेसम्म तीन चरणमा २८५ सिटका लागि मतदान सम्पन्न भइसकेको छ । पहिलो चरणमा २१ राज्यका १०२ सिटमा मतदान भएको थियो । यस्तै दोस्रो चरणमा १३ राज्यका ८९ सिटमा र तेस्रो चरणमा १२ राज्यका ९४ सिटमा मतदान भएको थियो ।