काठमाडौं। अंग्रेजी दैनिक ‘द हिमालयन टाइम्स’लाई कालोसूचीमा राख्ने प्रेस काउन्सिल नेपालको निर्णयप्रति नेपाल मिडिया सोसाइटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
द हिमालयन टाइम्सलाई प्रेस काउन्सिलले कुनै सूचना वा छलफलविना एकपक्षीय रूपमा ‘कालोसूची’मा राख्ने निर्णय गरेको भन्दै उक्त पत्रिकाले जानकारी गराएकाले आफ्नो ध्यानाकर्षण भएको सोसाइटीले उल्लेख गरेको छ ।
‘यस्ता गम्भीर प्रकृतिका निर्णय लिनुपूर्व सम्बन्धित पक्षको भनाइ लिनु र निष्पक्ष सुनुवाइ गर्नु प्रेस काउन्सिल नेपालको दायित्व हो । सुनुवाइमा केही समन्वयात्मक तथा प्राविधिक समस्या देखिए पनि यस विषयमा पत्रिकाको तर्फबाट गर्नुपर्ने आवश्यक जिम्मेवारी पूरा गरी प्रेस काउन्सिललाई स्पष्टीकरणसहितको औपचारिक पत्र बुझाइसकेको सन्दर्भमा कालोसूची फिर्ता गर्न ध्यानाकर्षण गराउँछौं,’ सोसाइटीले भनेको छ ।
सोसाइटीले प्रेस काउन्सिल नेपालका हरेक काम कारबाहीमा निष्पक्षता र विधिसम्मत प्रक्रियाको अपेक्षासहित आगामी दिनमा पत्राचार तथा संवादलाई सरल र परिष्कृत गरी यस्ता समस्या नदोहोरिने वातावरण सृजना गर्न अनुरोध गरेको छ ।
हिमालयन एडभेन्चर्स र निर्मल पुर्जाको विषयमा सम्प्रेषण भएको समाचारमा गत १४ जेठमा उजुरी दर्ता भएपछि काउन्सिलले पत्रिकासँग जवाफ मागेको थियो । पत्रिकाले आफ्नो भनाइसहित खण्डन प्रकाशन गरेकोमा उजुरीकर्ताले काउन्सिलमा अर्को निवेदन दिएका थिए ।
त्यस्तै, गत २७ भदौमा अर्कोपटक स्पष्टीकरण सोधिएकोमा पत्रिकाले उजुरीकर्ताको खण्डन प्रकाशन गरेको थियो । तर जवाफ चित्तबुझ्दो नआएको भन्दै यही फागुन ८ गते काउन्सिलले द हिमालयन टाइम्स दैनिक र हिमालयन टाइम्स डटकमलाई कालोसूचीमा राखेको हो ।