ब्रसेल्स (बेल्जियम) । अमेरिकाले स्टील र एल्युमिनियमको आयातमा २५ प्रतिशत कर लगाएपछि युरोपेली आयोगले आगामी अप्रिल १ देखि ‘प्रतिकारात्मक उपाय’ अपनाउने जनाएको छ ।
अमेरिकाले कर वृद्धि गरेर ‘अनुचित व्यापार प्रतिबन्ध’ गरेको आरोप लगाएको युरोपेली आयोगले यस्तो घोषणा गरेको हो ।
युरोपेली संघ (ईयू)को कार्यकारी निकाय युरोपेली आयोगकी प्रमुख उर्सुला फोन डेर लेयनले अमेरिकी करका बारेमा एक वक्तव्यमा भनेकी छन्, ‘हामी यस कदमप्रति गहिरो खेद प्रकट गर्दछौं ।’
अमेरिकाको कर वृद्धिको निर्णयले आपूर्ति श्रृङ्खलामा बाधा पुर्याउने उनले बताइन् । उनले भनिन्, ‘यसले अर्थतन्त्रमा अनिश्चितता ल्याउनेछ ।’ उक्त निर्णयले अमेरिकी उत्पादनमा पनि असर गर्ने लेयनले बताइन् ।
कर वृद्धिको निर्णय स्थानीय समयअनुसार बुधवार (आज) १ बजेदेखि लागू भएको छ ।
अमेरिकाले खस्कँदै गएको अमेरिकी स्टिल व्यवसाय र कामदारहरूको सुरक्षाका लागि यो कदम चालेको बताएको छ ।
उक्त निर्णयले अस्ट्रेलिया, क्यानडा, युरोपेली सङ्घ (ईयू), जापान र चीनका साथै ब्राजिल र मेक्सिकोलाई असर गर्ने बताइएको छ ।
ट्रम्पले धातुमा कर लगाएको यो पहिलो पटक भने होइन । आफ्नो पहिलो कार्यकाल (सन् २०१८)मा उनले स्टिल र एल्युमिनियमको निर्यातमा कर लगाएका थिए ।
अमेरिकी कर वृद्धिका कारण निम्तिने समस्या समाधानका लागि अमेरिकासँग वार्ता गर्न तयार रहेको लेयनले बताइन् ।
अमेरिका र युरोपेली आयोगबीच यस विषयमा वार्ता हुन नसकेमा वा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो निर्णयबाट पछि नहटेमा भने अप्रिलको मध्यसम्म ईयूको प्रतिकारात्मक कदम पूर्णरूपमा लागू हुनेछ । रासस/एएफपी