कर्जा भन्नाले कुनै पनि बैंक वित्तीय संस्थाबाट निश्चित समयावधिभित्र तोकिएको दरमा ब्याजसमेत तिर्ने गरी व्यवसाय सञ्चालन गर्न लिएको ऋण तथा सापटीलाई बुझिन्छ । बैंक तथा वित्तीय संस्था ऐन २०७३ को दफा २ को ज अनुसार कर्जा भन्नाले बैंक वा वित्तीय संस्थाले व्यक्ति, फर्म, कम्पनी, संस्था वा अन्य व्यावसायिक प्रतिष्ठानलाई निश्चित अवधिभित्र साँवाव्याज वा अन्य दस्तुर बुझाउने गरी प्रवाह गरिएको रकम, प्रत्यक्ष वा अप्रत्यक्ष प्रत्याभूति, कर्जाको ब्याज वा अन्य दस्तुर, पुनर्कर्जा, कर्जाको पुन:संरचना र नवीकरण, कर्जा चुक्ताका लागि जारी गरिएको जमानी तथा अन्य वचनबद्धता सम्झनुपर्छ । उक्त शब्दले राष्ट्र बैंकले सार्वजनिक सूचना प्रकाशन गरी तोकिदिएको कुनै पनि किसिमको ऋण समेतलाई जनाउँछ ।
लगानीमा रहेको कर्जा बैंक तथा वित्तीय संस्थाको मुख्य सम्पत्ति हो । बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जाको अवस्थाअनुसार कर्जालाई दुई भागमा विभाजन गरिएको हुन्छ । पहिलो सक्रिय कर्जा हो र दोस्रो निष्क्रिय कर्जा । सक्रिय कर्जाले बैंक वित्तीय संस्थाले लगानी गरेको कर्जा लगानी नियमसम्मत रहेको, कर्जाको सदुपयोग भएको, कर्जाको किस्ता भुक्तानी तालिकाअनुसार लगानी भएको अवस्थालाई चित्रण गर्छ । निष्क्रिय कर्जा भनेको
वित्तीय संस्थाले लगानी गरेको कर्जा जोखिममा रहेको अवस्था हो । जुन बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढी रहेको हुन्छ ती बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी गर्दा विद्यमान कानून तथा नीतिनियम पालना गरेका छैनन्, ऋणीहरूले कर्जाको सदुपयोग गरेका छैनन्, ऋणीहरूले आफूहरूले लिएकोे कर्जा ऋण लिँदा गरेको सम्झौता तथा भुक्तानी तालिकाअनुसार भुक्तानी गरेका छैनन्, कर्जा नीति समयसापेक्ष छैन, उक्त संस्थामा कर्मचारी व्यवस्थापन राम्रो छैन भन्ने बुझ्नुपर्छ । समग्रमा निष्क्रिय कर्जाको दर वृद्धि हुँदै जानुले वित्तीय अस्वस्थताको अवस्थालाई प्रस्तुत गर्छ । यसर्थ वित्तीय संस्थामा निष्क्रिय कर्जा धेरै हुनु तथा वृद्धि हुनुलाई नराम्रो मानिन्छ भने निष्क्रिय कर्जा थोरै हुनु तथा निष्क्रिय कर्जा घट्नुलाई राम्रो मानिन्छ । निष्क्रिय कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थाको वितरणयोग्य मुनाफा घट्छ भने निष्क्रिय कर्जा घट्दा वितरणयोग्य मुनाफा बढ्छ ।
लघुवित्त संस्था नै खारेज हुनुपर्छ, ऋण मिनाहा हुनुपर्छ भन्नेहरूको पक्षमा लागी कबुलियतबमोजिम कर्जाको साँवाव्याज किस्ता नतिर्दा लघुवित्त संस्थामा निष्क्रिय कर्जा बढेको हो ।
कर्जाको वर्गीकरण
नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ को निर्देशन नं.२।०७९ कर्जा/सापटको वर्गीकरण र कर्जा नोक्सानीसम्बन्धी व्यवस्थाअनुसार लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जालाई दुई वर्गमा वर्र्गीकरण गरिएको छ : पहिलो सक्रिय कर्जा र दोस्रो निष्क्रिय कर्जा । सक्रिय कर्जाअन्तर्गत भाखा ननाघेका तथा १ महीनासम्म भाखा नाघेका, १ महीनादेखि ३ महीनासम्म भाखा नाघेका गरी असल र सूक्ष्म निगरानीमा रहेका कर्जा पर्छन् । ३ महीनादेखि ६ महीनासम्म भाखा नाघेकालाई कमसल र ६ महीनादेखि १ वर्षसम्म भाखा नाघेका कर्जालाई शंकास्पद र १ वर्षभन्दा बढी अवधिले भाखा नाघेका कर्जालाई खराब कर्जा मानी तिनलाई निष्क्रिय कर्जाभित्र राखिएको छ ।
लघुवित्तमा निष्क्रिय कर्जा
लघुवित्त संस्थाहरूले प्रवाह गरेको कुल कर्जामध्ये ३० अर्ब ११ करोड अर्थात् ७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । थोक कारोबार गर्ने लघुवित्तको कारोबार घटाएर खुद्रा कारोबार गर्ने लघुवित्त संस्थाले प्रवाह गरेको कर्जामा मात्रै गणना गर्दा त करीब ८ प्रतिशत कर्जा निष्क्रिय हुन पुगेकोे छ । सक्रिय वर्गमा पर्ने असल कर्जामा १ दशमलव ३० प्रतिशत, सूक्ष्म निगरानी कर्जामा ५ प्रतिशत र कमसल कर्जामा २५ प्रतिशत, शंकास्पद कर्जामा ५० प्रतिशत र खराब कर्जामा १०० प्रतिशत रकम कर्जा नोक्सानी व्यवस्थाबापत खर्च गर्नुपर्ने हुन्छ । यसअनुसार लघुवित्त संस्थाहरूले कुल रू. २१ अर्ब ९० करोड ५ लाख ९५ हजार कर्जा जोखिम व्यवस्थाबापत खर्च गरेका छन् । उपर्युतm विश्लेषणबाट के निष्कर्ष निकाल्न सकिन्छ भने निष्क्रिय कर्जामा भएको वृद्धिले अधिकांश कर्जा विनाधितो लगानी गर्ने लघुवित्त संस्थाहरूमा विकराल अवस्थाको सृजना भएको छ ।
लघुवित्त संस्थाहरूले लगानी गरेको कर्जाको ठूलो अंश जोखिममा परेको छ । हाल लगानी गरेको कर्जाको ८३ प्रतिशत विनाधितो र १७ प्रतिशत धितो जमानतको रहेको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्त संस्थाहरूले पूँजीको अनुपात, वित्तीय स्रोत संकलन, कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था, धितो कर्जा र कुल कर्जा अनुपात, अनिवार्य नगद मौज्दात अनुपात, तरल सम्पत्ति अनुपातका साथै राष्ट्र बैंकमा पठाउनुपर्ने सबै विवरण पठाउनेलगायत सबै निर्देशन अनुपालना गरेको राम्रो प्रतिवेदन हुँदाहुँदै पनि लघुवित्त संस्थाहरूमा किन र कसरी बढ्यो निष्क्रिय कर्जा ? समस्याको समाधान कसरी गर्न सकिन्छ ? के छन् समाधानका उपाय ? लगायत प्रश्नको उत्तर नै लघुवित्त सेवामा देखिएको समस्याको समाधान हो । पछिल्ला वर्षहरूमा लघुवित्त वित्तीय संस्थाहरूले प्रवाह गरेको कर्जा निरन्तर रूपमा निष्क्रिय वर्गमा रूपान्तरण हुनुका पछाडि धेरै कारण छन् । लघुवित्तसेवामा समस्याको चुरो कुरो एकातिर छ समाजमा रहेका लुटतन्त्रका अवसरवादी नेतृत्वहरूले सिधासादा निमुखा विपन्न वर्गलाई उक्साएर वातावरण धमिल्याएर लघुवित्त संस्था बन्द गर्नुपर्छ, ऋण मिनाहा गर्नुपर्छ भन्दै नाराजुलुस गराएका छन् ।
स्वनियमन र स्वनियन्त्रणमा समाजको अभिन्न अंग बनेर लघुवित्त संस्था चल्नुपर्छ, चलाउनुपर्छ । विपन्न समुदायमा वित्तीय साक्षरता र व्यावसायिक साक्षरताको स्तर वृद्धि गर्ने कार्यक्रम लघुवित्त संस्था, नियामक निकाय र सरकारले ल्याउनुपर्छ ।
त्यसैले लघुवित्तमा देखिएको समस्याको चुरो कुरो नबुझी हल्लाको भरमा आएका कुरालाई आधार बनाएर समाधान खोजियो भने समाधान फेला पर्दैन । तसर्थ लघुवित्तको समस्या कहाँबाट कसरी शुरू भयो ? ककसको कस्तो भूमिकाले समस्या आयो बुझ्नु आवश्यक छ । यसमा लघुवित्त सेवाक्षेत्रसँग सम्बद्ध सरोकारवालाहरू र उनीहरूका योजना, निर्णय, लक्ष्य, लक्ष्य प्रगतिका लागि गरेका क्रियाकलाप नै धेरै हदसम्म जिम्मेवार रहेका छन् ।
लघुवित्तका सरोकारवालाहरूलाई अध्ययन विश्लेषणको दृष्टिले निम्न वर्गमा विभाजन गर्न सकिन्छ र यी सबै निष्क्रिय कर्जाका लागि कुनै न कुनै प्रकारले दोषी देखिन्छन् । ग्राहक : लघुवित्त संस्थाबाट गठित समूह तथा केन्द्रमा आबद्ध भएर यसबाट सेवा लिने लघुवित्तका ग्राहकले आफूले कर्जा लिँदा गरेको सम्झौता, तमसुक तथा भुक्तानी तालिकाअनुसार कर्जा भुक्तानी नगरे पछि निज ऋणीले लिएको कर्जा निष्क्रिय वर्गमा रूपान्तरण हुन्छ ।
कर्जा लिने बेलामा गरेको प्रस्तावअनुसारको परियोजनामा कर्जा नलगाएर दुरुपयोग गर्दा कर्जा तिर्न गारो हुन जान्छ । धेरै हदसम्म लघुवित्तका ग्राहक सदस्यहरूले कर्जा लिएर सदुपयोग नगरेको, एउटै परियोजना देखाएर तथा घरमा पहिलेदेखि चलिरहेको परियोजना तथा घरकै गाईभैंसी, बाख्रा देखाएर कर्जा लिने, उक्त कर्जाको प्रयोग अनुत्पादक कार्यमा लगानी गर्ने गरेको, फजुल खर्च गर्ने गरेको, लघुवित्तबाट कर्जा लिएर साहूमहाजनको कर्र्जा तिर्ने गरेको, कर्जा लिनुअगाडि घरपरिवारमा सरसल्लाह नगर्ने, कर्जा लिएर अरूलाई चलाउन दिने, परियोजनाको बीमा नगराउने, आम्दानीभन्दा बढी खर्च गर्नेलगायत कारणले लघुवित्तका ग्राहकहरूले कर्जाको किस्ता समयमा भुक्तानी गर्न नसकेको पाइएको छ । लघुवित्त संस्था नै खारेज हुनुपर्छ, ऋण मिनाहा हुनुपर्छ भन्नेहरूको पक्षमा लागी कबुलियतबमोजिम कर्जाको साँवाब्याज किस्ता नतिर्दा लघुवित्त संस्थामा निष्क्रिय कर्जा बढेको हो ।
लघुवित्त संस्था :
लघुवित्त संस्थाहरूले प्रवाह गरेको कर्जामा निष्क्रिय कर्जा निरन्तर बढ्नुमा लघुवित्त संस्था आफै पनि दोषी रहेका छन् । नेपाल राष्ट्र बैंकलगायत नियामक निकायले दिएको निर्देशन पूर्ण रूपमा पालना गरेको प्रतिवेदन लघुवित्तहरूले दिए पनि त्यसअनुसार काम नभएकाले लघुवित्त संस्थामा निष्क्रिय कर्जा वृद्धि भएको हो । लघुवित्त संस्थाको उद्देश्य नाफा कमाउनेभन्दा पनि धेरैभन्दा धेरै विपन्नलाई सेवा पुर्याउने, स्वरोजगारी र रोजगारी बढाउन उनीहरूको आम्दानी वृद्धि गराउने, बचत बढाउने, सीप क्षमता बढाउने, वित्तीय साक्षरता बढाउने, धेरै उद्यमीहरू वृद्धि गर्ने हुनुपर्नेमा पछिल्लो नाफा, बोनश, लाभांस, प्रतिशेयर आम्दानी, शेयरको बजारमूल्यमा केन्द्रित हुन पुगेको पाइन्छ । पछिल्लो समय उच्च मुनाफा कमाउने सोचबाट प्रेरित व्यावसायिक घरानाहरू, बैंकहरू, व्यावसायिक व्यक्तिहरू उच्च व्यवस्थापनमा सहभागी भए । यसले गर्दा लघुवित्त संस्थाहरू सामाजिक सेवाको उद्देश्यबाट विचलित भए । फलस्वरूप सदस्यको बचत, सीप, क्षमता, वित्तीय साक्षरता वृद्धिको सट्टा कर्जा लगानी वृद्धि गर्नतिर मात्रै लागे । थोरै कर्मचारीबाट धेरै ऋणीलाई सेवा दिएर उत्पादकत्व वृद्धि गर्नतिर होस् कि एकै सदस्यलाई धेरैभन्दा धेरै कर्जा लगानी गरेर होस्, जसरी हुन्छ धेरै लगानी गर्ने, धेरै ब्याज, नाफा कमाउनेतर्फ यसमा संलग्न सबै जना केन्द्रित भए ।
ऋणीको क्षमता र परियोजनाको आवश्यकताअनुसार कर्जा लगानी गर्नुपर्छ, ऋणीलाई कर्जाको सदुपयोग गराउनुपर्छ, केन्द्रको बैठक सुव्यवस्थित गर्नुपर्छ, केन्द्रमा सबै सदस्यलाई उपस्थित गराउनुपर्छ, उनीहरूका समस्याको समाधान गर्नुपर्छ । अन्य बैंक वित्तीय संस्थाले लगानी गरेका सदस्यलाई कर्जा लगानी गर्नु हुँदैन, सदस्यहरूको बचत वृद्धि गर्नुपर्छ भन्ने सोच रूढिवादी बन्न पुगे । लघुवित्त सेवाको मर्म र उद्देश्य सबैले भुले । लघुवित्त सेवा कार्यक्रमको गुणस्तर मापन हुन छोड्यो । धेरै लगानी धेरै नाफा र तथ्यांकमा प्रगति तथा वृद्धि गर्न नसक्नेहरू असफल जस्तै बने । सेवा प्रारम्भ गर्नुभन्दा अगाडि हरेक वर्ष अनिवार्य रूपमा दिनुपर्ने तालीम दिन छोडियो । फलस्वरूप निष्क्रिय कर्जा निरन्तर बढ्न थाल्यो ।
नियामक निकाय : लघुवित्त संस्था कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता हुनुपर्छ । दर्ता भइसकेपछि बैंक तथा वित्तीय संस्था ऐन, २०७३ बमोजिमको नियामक निकाय नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्रप्राप्त गरी सेवा प्रवाह गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले समयसमयमा गर्ने निर्देशनअनुरूप उत्तरदायी भएर तिनको पालना गर्नु यी संस्थाको कर्तव्य हुन्छ । देशमा आवश्यकभन्दा धेरै लघुवित्त संस्था सञ्चालन गर्नलाई इजाजत दिएर, आवश्यकभन्दा बढी प्रतिस्पर्धाको वातावरण सृजना गराउने, लघुवित्त संस्थाको उद्देश्य, आफ्नो निर्देशनबमोजिम प्रभावकारी रूपमा सेवा प्रवाह, सञ्चालन व्यवस्थापन भए नभएको निरीक्षण नियमन गर्न दक्ष जनशक्तिको विकास व्यवस्था गर्नुपर्नेमा त्यसअनुरूप
काम हुन सकेन । निर्देशनमा एकरूपता भएन । एक ऋणीलाई तीनओटा संस्थाले सेवा दिन पाउने सीमा कायम गर्नु, लघुवित्त संस्थाको नियमनका लागि दक्ष जनशक्तिको अभाव हुनु, अन्य बैंकसरहकै नीतिनियम लघुवित्तमा लगाउनु, सबै खाले बैंक वित्तीय संस्थाको नियमन निरीक्षण नियन्त्रण एकै अवधारणामा गर्नुलगायत कारणले लघुवित्त सेवा सामाजिक व्यवसायको सट्टा व्यापारिक वित्तीय संस्थाकै रूपमा विकास भयो । सरकार : देशमा विद्यमान ऐन कानून नीतिनियमअनुरूप सञ्चालन भएका संस्था तथा कानूनी व्यक्तिहरूको सुरक्षा गर्नुु, सेवा प्रवर्द्धन गर्नु/गराउनु सरकारको कर्तव्य हो । कानूनबमोजिम सञ्चालनमा आएर सरकारको नीतिनियम निर्देशनअनुरूप सञ्चालन भएका लघुवित्त संस्था, यसमा कार्यरत कर्मचारी, यसका ग्राहकको सुरक्षा गर्नु सरकारको जिम्मेवारी हो । तर, सरकारले यो जिम्मेवारी पूरा गरेन । गैरकानूनी रूपमा विभिन्न समूह समिति गुट, उपगुटबाट लघुवित्त सेवा प्रदान गर्ने संस्था, कर्मचारीमाथि हमला भएको छ ।
गैरकानूनी रूपमा लघुवित्तका ग्राहकबाट चन्दा उठाएर लघुवित्त समितिको नाममा लुट भइरहँदा सरकार चुप लागेर बस्नु, लिएको ऋण नतिर्न उक्साउने, नारा जुलुसमा उतार्ने, लघुवित्त संस्थाका कार्यालयमा तोडफोड गराउने, कर्मचारीहरूलाई कुटपिट गर्ने, कालोमोसो दल्नेहरूलाई कानूनी कारबाही नगरी मूकदर्शक भएर बस्ने काम गर्यो । सरकारमा नै भएको राजनीतिक दलका कार्यकर्ताले लघुवित्त विरोधी समूहको नेतृत्व गरेर लघुवित्तको व्यावसायिक वातावरण बिगार्नेलगायत क्रियाकलाप र सरकारी निकायको गैरजिम्मेवारीपनले गर्दा पनि लघुवित्त संस्थामा निष्क्रिय कर्जा वृद्धि भएको हो ।
बाह्य तत्त्व : विश्वस्तरमा आएको आर्थिक मन्दी, देशमा आएको भूकम्प, कोरोना महामारी, वर्षेनि हुने प्राकृतिक प्रकोप, रूस–युक्रेन युद्ध, खाडी देशहरूमा रोजगारी आएको कमी आदि कारणले विपन्न समुदायको जीविकोपार्जनमा प्रभाव परेको छ । देशमा रोजगारीको कमी, वैदेशिक रोजगारीमा सुरक्षाको अभाव, गाउँघरमा युवा जनशक्तिको अभावमा खेतवारी बाँझिनु, वन्य जीवजन्तु बाँदरलगायतको प्रभाव बढ्नुले पनि विपन्नको जीवनस्तरमा प्रभाव परेको छ । विपन्नको आम्दानी घट्नु, वैदेशिक रोजगारीमा सुरक्षाको अभावले विपन्न परिवार थलिनु, प्राकृतिक प्रकोपले विपन्नलाई नै बढी प्रभाव पार्नु आदि कुराको प्रत्यक्ष प्रभाव लघुवित्त सेवामा पर्न जाने हुनाले समेत लघुवित्तमा निष्क्रिय कर्जा वृद्धि भएको हो ।
अन्त्यमा देशको कुल जनसंख्या मध्येको आधा जनसंख्या गरीबीको रेखामुनिको कहालीलाग्दो जीवन बाँचिरहेको तत्कालीन अवस्थामा देशका दूरदराजका गाउँपाखामा बस्ने सबै समुदायका महिला, जनजाति, विपन्न, बेरोजगार र सुकुमबासीलगायत सबै विपन्नलाई लक्षित गरी तिनीहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याएको छ लघुवित्तले । महिला सशक्तीकरण, स्वरोजगारी, रोजगारी र उद्यमशील बनाएर उनीहरूको आम्दानी वृद्धि गर्न गाउँटोलमै गएर लघुवित्त सेवा दिएर गरीबी कम गर्ने उद्देश्यले लघुवित्त संस्था स्थापना भएका हुन् । यसले समुदायमा पुर्याएको योगदानको
मूल्यांकन गरेर हालसम्म अभिलेखीकरण नहुनु दु:खद कुरा हो । तसर्थ लघुवित्तको सेवाको मर्म विपन्न वर्गको भावना बुझेर यस सेवाक्षेत्रका सबै सरोकारवाला जिम्मेवार बन्नुपर्छ । स्वनियमन र स्वनियन्त्रणमा समाजको अभिन्न अंग बनेर लघुवित्त संस्था चल्नुपर्छ, चलाउनुपर्छ । विपन्न समुदायमा वित्तीय साक्षरता र व्यावसायिक साक्षरताको स्तर वृद्धि गर्ने कार्यक्रम लघुवित्त संस्था, नियामक निकाय र सरकारका कार्यक्रममा राखिनुपर्छ । लगानीकर्ताको लगानी सुरक्षित गराएर सामाजिक व्यवसायको रूपमा लघुवित्तका लगानीकर्ता सञ्चालक र उच्च व्यवस्थापन, कर्मचारीले धेरै मुनाफाभन्दा पनि धेरै विपन्नलाई सेवा पुर्याउनुपर्छ । कर्जाको शतप्रतिशत सदुपयोग गराउनुपर्छ ।
उद्यमशीलताको प्रवर्द्धन गरेर देशमा आन्तरिक उत्पादन वृद्धितर्फ सबै लाग्नुपर्ने हुन्छ । विपन्न वर्गजस्तो संवेदनशील वर्गलाई सेवा पुर्याउने संस्थाहरूलाई अनावश्यक व्यवसायीकरण नगरी, अस्वस्थ र अतिप्रतिस्पर्धा नगराई समाजको आवश्यकताअनुसारको समयसापेक्ष वित्तीय सेवा तथा गैरवित्तीय सेवा एकै ढोकाबाट दिने संस्थाका रूपमा लघुवित्त संस्थालाई विकास गरिनुपर्छ । लघुवित्त संस्थाको लागि तर्जुमा हुने नीतिनियम, निर्देशन अन्य बैंकवित्तीय संस्थाको भन्दा फरक गराई लघुवित्तको मर्मबमोजिम नियमनमा विशिष्टीकरण गर्नु/गराउनु आजको आवश्यकता हो ।साथै लघुवित्त सेवा विरोधीहरूलाई कानूनको कठघरामा ल्याएर समाजमा प्राकृतिक तथा कानूनी व्यक्तिको मौलिक हक स्वतन्त्रताको उपभोगमा सहज गराउनुपर्छ । लगानीकर्ताको लगानी सुरक्षाको प्रत्याभूति हुने वातावरण सृजना गर्नु सरकारको कर्तव्य तथा जिम्मेवारी हो ।
लेखक लघुवित्त र लघुबीमा क्षेत्रमा लामो अनुभवप्राप्त अधिवक्ता हुन् ।