राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका लागि दुईओटा जहाज किन्ने विषयमा सरकार थप अन्योलमा परेको छ । निगमका लागि ‘दुईओटा जहाज किन्न सरकार जमानत बस्ने’ भनी मन्त्रिपरिषद्को साउन १७ गतेको बैठकले निर्णय गरेको थियो । सो निर्णयमा नयाँ वा पुरानो कुन प्रक्रियाबाट खरीद गर्ने भन्ने विषय स्पष्ट नभएकाले नयाँ जहाज किन्ने विषय अन्योलमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
जहाज किन्न २ वर्षअघि निगम र यूरोपेली जहाज निर्माता कम्पनी एयर बसबीच भएको सम्झौता यथावत् रहेको स्थितिमा नयाँ प्रक्रिया अन्योलपूर्ण हुने देखिएको हो । पर्यटन मन्त्रालयले अहिलेसम्म भएको अवस्थाका बारेमा खुलस्त पारेर मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाएको भए पनि निर्णय आउँदा भने स्पष्ट रूपमा आउन नसकेको पनि उनको भनाइ छ ।
‘सरकारले जहाज खरीदका लागि जमानत बस्ने घोषणा हरेक वर्षको आर्थिक ऐनमा नै गर्दै आएकाले अहिलेको अवस्थामा पनि सरकारबाट सोही घोषणालाई दोहोर्याउनु ठूलो कुरा होइन,’ निगमका प्रवक्ता सरोज कसजूले भने । निगमसमक्ष भने सरकारले गरेको सो जहाज किन्ने निर्णय आइनपुगेको उनले जानकारी दिए । निर्णय नहेरी टिप्पणी गर्न नमिल्ने भए पनि जमानतमात्र बस्ने घोषणाबाट मात्र जहाज किन्न गाह्रो हुने उनको तर्क छ ।
वर्ष ७, अंक ३३७, आइतवार ३ भदौ, २०६९