काठमाडौं । अनलाइन प्लेटफर्ममार्फत धितोपत्र कारोबारका लागि प्रयोग हुँदै आएको मेरो शेयर खाताको झन्डै १९ लाखओटा निष्क्रिय रहेको देखिएको छ ।
धितोपत्र राफसाफकर्ता सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले सार्वजनिक गरेको तथ्यांकअनुसार १८ लाख ७९ हजार ६२ मेरो शेयर खाता निष्क्रिय अवस्थामा छन् ।
सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले दिएको जानकारीअनुसार कुल ५४ लाख ७३ जार २६५ ओटा मेरो शेयर खाता खोलिएकोमा ३५ लाख ९४ हजार २०३ ओटा मात्र सक्रिय छन् । यो संख्या वार्षिक रूपमा नवीकरण भएका खाताको भएको न्यौपानेले बताए । मेरो शेयर खाता सञ्चालनबापत वार्षिक ५० रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।
यति धेरै संख्यामा मेरो शेयर खाता निष्क्रिय रहेबाट पछिल्लो समय बजारमा लगानीकर्ताको सक्रियता घटेको बुझ्न सकिने न्यौपानले बताए । प्राथमिक बजारमा अनलाइनमार्फत धितोपत्र खरीद गर्न र धितोपत्रको दोस्रो बजारमा धितोपत्र खरीदविक्री गरिसकेपछि ट्रान्सफर गर्नसमेत मेरो शेयर खाताको सहारा लिनुपर्ने हुन्छ । हाल धितोपत्रको दोस्रो बजार कारोबारमा २३ लाखभन्दा बढी लगानीकर्ता सक्रिय छन् ।
लगानीकर्ता इन्द्रकृष्ण श्रेष्ठले केही समय पहिला प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि धेरै लगानीकर्ताले हितग्राही खाता र मेरो शेयर खाता खोले पनि पछिल्लो समय ती खाता प्रयोगविहीन अवस्थामा रहेको बताउँछन् ।
धेरैले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत शेयर किन्न मेरो शेयर खाता खोल्ने गरेको तर लामो समयदेखि आईपीओ नआउँदा मेरो शेयर खाता निष्क्रिय भएको हुनसक्ने उनको अनुमान छ । धितापत्र बोर्डमा अध्यक्ष नियुक्त नहुँदा ९ महीनादेखि प्राथमिक बजारमा सार्वजनिक निष्कासन प्रभावित भएको छ ।
निश्चित व्यापारिक समूहको स्वार्थपूर्ति गर्ने हेतुले अध्यक्ष नियुक्त गर्न खोजेको आरोपबीच अध्यक्ष नियुक्ति प्रक्रिया विवादमा परेपछि नयाँ अध्यक्ष नियुक्ति अझै हुन सकेको छैन । अहिले अर्थ मन्त्रालयका प्रतिनिधिले अस्थायी रूपमा बोर्ड अध्यक्षको भूमिका निभाइरहेका छन् ।
श्रेष्ठ मेरो शेयर खाता निष्क्रिय हुनुको अर्को कारण प्राथमिक बजारमा शेयर खरीद गर्न खोज्नेको संख्या बढेका कारण सबैलाई शेयर पर्ने सम्भावना नहुनुलाई ठान्छन् ।
उनी आफै पनि केही वर्ष अघिसम्म सबै आवेदकलाई न्यूनतम १० कित्ता शेयर पर्ने अवस्थामा परिवारका सबै सदस्यको नामबाट आवेदन दिने गरेको तर पछिल्लो समय आफ्नै नामबाट पनि खरीद गर्न छोडेको बताउँछन् । ‘कम्पनीले निष्कासन गरेको धितोपत्र कित्ता हेरेर शेयर हात पर्ने सम्भावना भए मात्र आवेदन दिन्छु,’ उनी भन्छन् ।
अर्का लगानीकर्ता डम्बरुवल्लभ घिमिरे करीब १९ लाख लगानीकर्ता निष्क्रिय भएको अवस्थामा सरोकारवाला निकायले ती लगानीकर्तालाई सक्रिय हुने माहोल बनाउनुपर्नेमा जोड दिन्छन् ।
‘यी लगानीकर्ता बजारमा लगानी गर्छु भनेरै छिरेका हुन् । के कारण निराश भए र निष्क्रिय अवस्थामा रहे भन्ने कुरामा सरोकारवाला निकायको ध्यान जानुपर्छ,’ उनले आर्थिक अभियानसँग भने ।
यसका लागि प्राथमिक बजारमा सार्वजनिक निष्कासनले निरन्तरता पाउनुपर्ने उनको भनाइ छ । साना लगानीकर्ता उत्साहित हुने प्राथमिक बजार लामो समयदेखि शून्य अवस्थामा रहेको उल्लेख गर्दै घिमिरेले बजारको विकासमा यसले नकारात्मक असर गर्ने टिप्पणी गरे । करीब ४ दशक यो क्षेत्रमा बिताएका घिमिरे बजारमा निरन्तर सक्रिय हुँदा कोही लगानीकर्ताले घाटा बेहोर्नु नपर्ने बताउँछन् ।