काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक २ दशलमव ४७ अंक बढेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ७४५ दशमलव ३६ विन्दुमा पुगेको हो ।
आजसँगै नेप्से लगातार चार कारोबार दिन बढेको छ । याे अवधिमा नेप्से ८२ अंक बढेको छ ।
आज बढेको बजारमा अन्तिम प्रहरमा विक्रेता हाबी भएका छन् । तर, बजार बन्द हुँदा सूचक सकारात्मक नै रह्यो । बढेको बजारबाट कारोबारीले नाफा बुक गर्न खोज्दा अन्तिम प्रहरमा सूचक दबाबमा परेको यसबाट अनुमान गरिएको छ ।
आज कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । अघिल्लो कारोबार दिन रू. ५ अर्ब ६६ बराबरको कारोबार भएकोमा आज रू. ७ अर्बभन्दा बढीको कारोबार भएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव २६ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ०५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १५ प्रतिशत वृद्धि भएको छ ।
आज १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता शेयर ८० हजार ५९५ पटकमा रू. ७ अर्ब १९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । यस दिन कारोबारमा आएका धितोपत्रमध्ये गुडवील फाइनान्सको शेयर मूल्य सबैभन्दा बढी ७ दशमलव ६३ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार २ सय पुगेको हो । त्यस्तै एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाई मूल्य ६ दशमलव १९ प्रतिशत बढेर रू. ९ दशमलव ६० पुगेको छ ।
बिहीवार सबैभन्दा बढी अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ५ दशलमव १९ प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ८२० मा झरेको छ । त्यस्तै मिड सोलु हाइड्रोपावरको शेयर मूल्य ५ दशमलव ०३ प्रतिशत घटेर रू. ९२१ दशमलव २० कायम भएको छ ।
यस दिन शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा कुमारी बैंकले ओगटेको छ । यस बैंकको रू. ३३ करोड १३ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २४३ कायम भएको छ ।
शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी छ । कम्पनीको रू. २६ करोड ६२ लाख बराबरको संस्थापक शेयरको खरीदविक्री भएको हो ।
आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये ६ समूहको सूचक घटेको छ भने बाँकीको सूचक बढेको छ । तीमध्ये म्युचुअल फण्ड समूहको सबैभन्दा बढी १ दशमलव ४० प्रतिशत वृद्धि भएको छ भने व्यापार समूहको सूचक २ दशलमव १० प्रतिशत घटेको छ ।