काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा असार २५ गते कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा विक्रीसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँको १ः०.६५ अनुपातमा अर्थात् ६५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद निष्कासन गर्नेछ ।
कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै हकप्रद शेयर निष्कासन गर्नेछ ।