काठमाडौं । जर्मनीको फ्य्राङ्फर्टमा हुने एम्बिएन्टे व्यापार मेलामा यस वर्ष नेपालबाट २२ उद्यमीले सहभागिता जनाउन लागेका छन् ।
आगामी फेब्रुअरी ७ देखि ११ सम्म सञ्चालन हुने उक्त मेलामा नेपालसहित करीब ७० देशका उद्यमी, व्यवसायीको सहभागिता रहने आयोजकले जानकरी दिएको छ । । मेस्से फ्य्राङ्फर्टले आयोजना गर्दै आएको उक्त व्यापार मेला नेपालका लागि पनि निर्यात प्रवर्द्धन गर्ने उपयुक्त प्लेटफर्म मानिन्छ । नेपालका लागि मेस्से फ्य्राङ्फर्टको आधिकारिक प्रतिनिधि मेस्से फ्य्राङ्फर्ट नेपालका प्रमुख विनोद मल्लका अनुसार विगतमा झैं यस वर्ष पनि उक्त मेलाले नेपाली उत्पादनको निर्यात प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने मानिएको छ ।
एम्बिएन्टे मेला ‘मेस्से फ्य्राङ्फर्ट’को एउटा ब्रान्ड हो, जुन लिभिङ, गिभिङ र डायनिङका सामग्रीका लागि विश्वकै प्रख्यात व्यापार मेला मानिन्छ । हरेक वर्ष फेब्रुअरीमा फ्य्राङ्फर्टमै आयोजना हुने उक्त मेलामा नेपाली उद्यमी/व्यवसायीले पनि घरायसी फर्निचर, भान्सामा प्रयोग हुने सामग्रीसहित गिफ्ट आइटम, मूर्तिकला, कार्पेट, पस्मिना, फेल्टलगायत हस्तकलाका विभिन्न सामाग्री प्रदर्शनी गर्ने गर्छन् । प्रदर्शनीपश्चात् विश्वभरका थोक व्यवसायीको मागबमोजिम नेपालबाट आफ्नो उत्पादन निर्यात गर्ने गर्छन् । ‘मेस्से फ्य्राङ्फर्ट’ले जर्मनीको फ्य्राङ्फर्ट’ शहरमा ८०० वर्षदेखि यस्तो व्यापार मेला आयोजना गर्दै आएको छ ।
मुलुकको निर्यात व्यापार वृद्धि गरी व्यापारघाटा कम गर्न विश्व बजारमा लाग्ने यस्ता व्यापार मेलामा सहभागी हुनैपर्ने मल्लको भनाइ छ । ‘आफूले उत्पादन गरेको वस्तुलाई पसल वा उद्योगमा मात्रै राखेर त्यसले राम्रो बजार पाउन सक्दैन । त्यसैले विश्व बजारमा लाग्ने यस्ता ठूला व्यापार मेलामा सहभागी भएर आफ्नो उत्पादनको प्रचार गर्न जरुरी छ ।
निर्यात प्रवर्द्धनका लागि व्यापार मेला एक अनिवार्य शर्त जस्तै हो,’ मल्लले आर्थिक अभियानसँग भने, ‘१७० देशबाट थोक व्यवसायी सामान खोज्न आउने भएकाले नेपाली उत्पादन र कला संस्कृतिलाई विश्व बजारमा चिनाउने एउटा उपयुक्त माध्यम पनि हो एम्बिएन्टे मेला ।’ चीन, बंगलादेशलगायत देशका व्यवसायीलाई सरकारले नै मेलामा सहभागी हुन सहयोग गर्ने गरेको बताउँदै उनले नेपाल सरकारले पनि हाम्रा व्यवसायीलाई त्यस्तो सहयोग गर्ने हो भने निर्यात बढाउन अझ सहज हुने दाबी गरे ।
मेलामा एकपटक सहभागी भइसकेका प्राय: कम्पनीहरू फेरिफेरि पनि सहभागी भइरहने गरेको उनले सुनाए । उनका अनुसार विगत ४५ वर्षदेखि सहभागी हुँदै आएका नेपाली व्यवसायीहरू पनि यसपालि सहभागी हुँदै छन् । यस वर्ष नेपालबाट सहभागी हुन लागेका उद्यमीमध्ये करीब ३० प्रतिशत महिला छन् । एम्बिएन्टे बीटूबी मेला हो, जहाँ विक्रेताले उपभोक्तालाई सामान विक्री गर्ने नभई उत्पादकले थोक व्यापारीसामु आफ्नो उत्पादन प्रदर्शन गर्छन् र मन परेमा थोक व्यापारीले उक्त सामान अर्डर गर्छन् । उक्त व्यापार मेलामा करीब ५ हजार व्यापारिक स्टल रहने आयोजकले जनाएके छ ।