प्रमुख गतिविधि
ज्योति विकास बैङ्कले राप्तीभेरी विकास बैङ्कलाई प्राप्ति गरी कात्तिक ८ गतेदेखि एकीकृत कारोबार गरेको छ । कम्पनीले केही समययता शाखा विस्तारमा तीव्रता दिएको छ, जसअनुसार हाल शाखा सङ्ख्या ४६ पुगेको छ । आर्थिक वर्ष २०७३/७४ को लाभांश घोषणा गर्न बाँकी रहेको यस कम्पनीको बोनस शेयरबाट राष्ट्र बैङ्कले तोकेको २ अर्ब ५० करोड चुक्ता पूँजी पुग्नेछ ।
कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :
- बैङ्कले यो अवधिमा आफ्नो खुद नाफामा ४ प्रतिशत वृद्धि हासिल गरेको छ । यो त्रैमासमा ४ करोड ५२ लाख रुपैयाँ खुद मुनाफा कमाउन कम्पनी सफल भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उसले ४ करोड ३५ लाख खुद नाफा कमाएको थियो ।
- पूँजी वृद्धि भएसँगै प्रतिशेयर आम्दानीलाई सन्तुलनमा राख्न कम्पनीलाई कठिन भइरहेको देखिन्छ । यो अवधिमा पूँजी १२४ प्रतिशत वृद्धि भएकोे छ भने प्रतिशेयर आम्दानी १७ रुपैयाँ ६६ पैसाबाट घटेर ८ रुपैयाँ २१ पैसा भएको छ ।
- यो त्रैमासमा ११ अर्ब ३० करोड निक्षेप उठाई ९ अर्ब ९८ करोड कर्जा प्रवाह गर्न कम्पनी सफल भएको छ ।
- निक्षेप ४२ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह ४८ प्रतिशत वृद्धि भएको छ ।
- ऋण तथा निक्षेपमा वृद्धि भएसँगै, कर्जासँग पूँजी र निक्षेपको अनुपात अर्थात् ‘क्रेडिट टु क्यापिटल एण्ड डिपोजिट रेशियो’ ७१ दशमलव ६३ प्रतिशत कायम छ ।
- खुद ब्याज आम्दानी ३० प्रतिशत वृद्धि भएर १२ करोड ८९ लाख पुगेको छ । त्यस्तै, सञ्चालन नाफा ७९ प्रतिशत वृद्धि भएर ७ करोड ११ लाख पुगेको छ । आम्दानीमा प्रोभिजनका कारण २ करोड १६ लाख घट्न पुगेको देखिन्छ भने जोखीम कोषबाट रकम फिर्ता भएको छैन ।
- निष्क्रिय कर्जामा उल्लेख्य मात्रामा कमी ल्याएको छ । यस अवधिमा बैङ्कको निष्क्रिय कर्जा २ दशमलव १३ प्रतिशतबाट घटेर शून्य दशमलव ८२ प्रतिशतमा आएको छ भने निष्क्रिय कर्जाका लागि १९१ दशमलव ६८ प्रतिशत रकम व्यवस्था गरेको छ ।
- बैङ्कले प्रकाशन गरेको वित्तीय विवरणअनुसार प्रतिशेयर नेटवर्थ १२३ दशमलव १८ रुपैयाँ, प्रतिशेयर आम्दानी ८ रुपैयाँ २१ पैसा, मूल्य आम्दानी अनुपात २३ दशमलव २८ गुणा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य रू. ६५३ रुपैयाँ ८२ पैसा र तरलता अनुपात ३४ दशमलव २७ प्रतिशत रहेको छ ।