काठमाडौं। ज्योति विकास बैंकले ‘ग्लोबल मनी विक २०२५’ को अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । अभियानको नारा ‘थिंक बिफोर यु फलो, वाइज मनी टुमरो’ विषयवस्तुमा केन्द्रित भई बैंकले विभिन्न शाखामार्फत देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता र सचेतनाका कार्यक्रम आयोजना गरेको हो । बैंकले डिजिटल माध्यम र सोसल मिडियामार्फत पनि विभिन्न सचेतना तथा अन्य जानकारीमूलक कार्य सञ्चालन गरेको बताइएको छ । यस अभियानमार्फत करीब १ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा लाभान्वित भएको बैंकले जानकारी दिएको छ ।
कार्यक्रममा आधुनिक बैंकिङ, बैंक तथा वित्तीय संस्थाका मुख्य कार्य, वित्तीय अनुशासन, आवश्यकता तथा चाहना, वित्तीय लक्ष्य, बचत, लगानी, खर्च, विद्युतीय वित्तीय सेवा, नगदरहित कारोबार, धितोपत्र बजार, विद्युतीय ठगी लगायतका विषय समावेश गरी तालीम तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।