पुस २१, पाल्पा (अस) । जिल्ला प्रशासन कार्यालय, पाल्पाले कागजपत्र जोगाउन कार्यालयका स्टोर तथा नागरिकता फाँटमा धमिरा मार्ने विष छर्केको छ । कार्यालयले वर्षामा छतबाट पानी चुहिएर भिजेका कागजपत्रमा धमिरा लाग्न थालेपछि ‘क्लोरोपाइडिपस’ नामक विष छर्किएको हो । धमिरा लागेको ठाउँ र फाइलमा विष छर्किएकाले यसले केही महीनाका लागि फाइल बच्ने जिल्ला कृषि विकास कार्यालय, पाल्पाका प्राविधिक थमनबहादुर कार्कीले बताए । यसरी छर्किएको विषले केही समय काम गरे पनि दिगो निकासका लागि कोठा नै परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।
२०६२ साल माघ १८ गते माओवादी आक्रमणका कारण पाल्पा दरबारमा रहेका त्यसअघिका सबै कागजपत्र जलेर नष्ट भएका थिए । अहिले दरबारपरिसरमै प्रशासन कार्यालय सञ्चालनमा छ । आक्रमणपछिका नागरिकता र नाता प्रमाणितलगायतका महत्वपूर्ण फाइलमा कार्यालयको असावधानीका कारण धमिराले गोलो लगाएको थियो । यसका कारण नागरिकता फाँटका महत्वपूर्ण कागजपत्र असुरक्षित थिए । यसैको सुरक्षाका लागि विष छर्नुपरेको कार्यालयले बताएको छ ।