सामान्यतया अढाइ तलाको एउटा घर निर्माण गर्न ३ महीना समय लाग्छ । अझ घर निर्माणमा प्रयोग गरिने सामग्रीको व्यवस्थापन समस्याले उक्त समय लम्बिन पनि सक्छ । कङ्क्रिटबाट बन्ने घरमा भूकम्पीय जोखीम बढी हुने गरेको देखिएको छ । हालै आएको महाभूकम्पपछि नेपालमा २ लाखभन्दा धेरै घर पुनर्निर्माण गर्नुपर्ने देखिएको छ । छोटो समयमा काठ तथा प्रिफेब प्यानलका भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्न सकेमा कङ्क्रिटभन्दा एक तिहाइ कम मूल्यमा नै निर्माण गर्न सकिने बिरा फर्निचरका प्रबन्ध निर्देशक पद्मबहादुर श्रेष्ठ बताउँछन् ।
भूकम्प प्रतिरोधात्मक काठका घर
- १५ दिनमै तयार हुने
- कङ्क्रिटको घरभन्दा एक तिहाइ कम खर्च लाग्ने
कङ्क्रिटबाट बन्ने घरको भन्दा एक तिहाइ कम मूल्यमा भूकम्प प्रतिरोधात्मक काठको घर बनाउन सकिन्छ । काठबाट बनाइने यस्ता ‘प्रि–फेब्रिकेटेड’ घर १५ दिनमा नै तयार हुने श्रेष्ठ बताँउछन् । बिरा फर्निचरले २५ वर्षदेखि काठको घरनिर्माण गर्दै आएको छ । उनका अनुसार यसरी बनाइएका घर एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिन्छ । यस्ता घर बनाउन आम मानिसले कम रुचि देखाए पनि हाइड्रोपावर, रेष्टुराँ, होटल, स्कूल तथा विदेशबाट फर्केका मानिसले प्रयोग गर्न थालेको बताइएको छ । वैशाख १२ गतेको महाभूकम्पपछि मानिसले यस्ता घर निर्माणमा चासो देखाउन थालेका छन् ।
नेपालमा अहिले ६÷७ ओटा कम्पनीले काठका घर बनाउँदै आएका छन् । भूकम्प प्रतिरोधात्मक क्षमता रहेका यस्ता घरनिर्माणमा प्रतिस्क्वायर फुटको १ हजार ५ सय रुपैयाँदेखि माथि पर्ने कम्पनीहरूले जानकारी दिएका छन् । काठबाट बनाइने घर बढीमा २ तल्लासम्म हुने गरेका छन् । तर स्टीलको स्ट्रक्चर राखेर बनाइने काठका घर भने ५÷६ तलासम्म पनि बनाउन सकिन्छ । बिरा फर्निचरले बनाएका यस्ता घरमा हालै गएको भूकम्पले कुनै क्षति नपु¥याएको प्रबन्ध निर्देशक श्रेष्ठको दाबी छ । कम्पनीले कालीगण्डकी, खिम्ती, मस्र्याङ्दी, इन्द्रावती, चमेलियालयात जलविद्युत् आयोजनामा यस्ता घर बनाइसकेको छ । त्यस्तै, सगरमाथाको बेसक्याम्प कालापत्थरमा १० कोठाको रेष्टुराँ पनि बनाइसकेको उनले बताए ।
कसरी बनाइन्छ काठको घर
- काठको घर बनाउँदा चाहिने सामान कारखानामा तयार गरी घर बनाउने ठाउँमा लगि जडान गरिन्छ ।
- कारखानामा मुख्य गरेर काठमा झ्याल, ढोका, खापा, चौकोस, भुइँ, ढिक्का, छानालगायत सामग्री तयार पारिन्छ ।
- यसरी तयार पारेको सामान सम्बन्धित ठाउँसम्म लगेर जडान गरिन्छ ।
- सामान्यतया एउटा घर १५ दिनमा तयार गरिन्छ ।
- फिनिसिङ तथा बाथरुम बनाउने काम फिल्डमै गरिन्छ ।
- रङ रोगन तथा राम्रो हेरचाह गरेमा यस्ता घर लामो समयसम्म चल्छन् ।
सकारात्मक पक्ष
- भूकम्प प्रतिरोधात्मक
- हुरी बतासले असर नपुर्याउने
- बनाइएका घर सार्न सकिने
- बाथलगायत चिसोबाट हुने रोग बाट जोगाउने
- हाइजेनिक
- भेण्टिलेशनको प्रयाप्त सुविधा
- सिजिनिङ गरेको काठ प्रयोग गरिने भएकाले काठमा किरा नलाग्ने
- मुख्य घर कङ्क्रिट बनाउनेले पनि दोस्रो घरका रूपमा यस्ता घर प्रयोग गर्न सकिने ।
- यस्ता घरमा आगलागीबाट बचाउने प्रविधिको पनि विकास भइसकेको
- कङ्क्रिटको घरभन्दा एक तिहाइ कम मूल्यमा तयार हुने
एक महीनामै ४ लाखमा बन्छ घर
सामान्यतया एउटा अढाइ तलाको घर निर्माण गर्न ३ देखि ४ महीना समय लाग्छ । अधिकांश भूकम्पपीडित घरबारविहीन भएको अवस्थामा घर निर्माणमा लामो समय खर्च गर्ने नेपालको अवस्था अहिले छैन । सोही समयलाई दृष्टिगत गर्दै बजारमा नयाँ प्रविधिको प्रयोग बढाउनु अहिले उचित देखिन्छ । त्यसका लागि इँटाको विकल्पका रूपमा प्रयोग हुने प्रिफेब प्यानलका घर फाइदाजनक देखिन्छन् । प्रिफेब प्यानलका घर छिटो र सस्तो मूल्यमा बनाउन सकिन्छ । आवश्यकताअनुसार १ महीनामै घर निर्माण गर्न सकिने प्रिफेब प्यानलको नेपालका लागि आधिकारिक विक्रेता आरती एण्ड कम्पनीका प्रबन्ध निर्देशक टीका बीएन डेउलाले बताए । ‘इँटाको तुलनामा ठूलो तथा हलुका भएकाले भवन निर्माणमा प्रिफेब छिटो तथा सजिलो हुन्छ,’ उनले भने, ‘अहिले भूकम्पपीडितका लागि प्रिफेबका घर उत्तम विकल्प हो,’ प्रिफेबले बनाएको घर इँटाभन्दा ७५ प्रतिशत छिटो बन्ने हुँदा पीडितलाई सहज हुन्छ । सन २००१ मा भित्रिएको भारतीय प्रविधिले नेपाल भरी ५ सय प्रिफेब घर बनाइसकेको छ । त्यसमध्ये २ सयभन्दा बढी काठमाडौंमै छन् ।
सामान्यरूपमा हेर्दा प्लाइऊडजस्तै देखिने प्रिफेब प्यानल सिमेण्ट तथा फाइबरबाट बन्ने ब्लक हो । प्रिफेब सामान्यतया २ फिट मोटाइ तथा ७ देखि ९ फिट लम्बाइसम्मको हुन्छ । यसको बजारमूल्य २ सयदेखि २ सय २० रुपैयाँ प्रतिवर्गफिट रहेको छ । ५ वर्षको वारेण्टी हुने यो प्यानलबाट बनेका घर ४० वर्षभन्दा बढी टिकाउ हुने उनको भनाइ छ । प्रिफेबबाट बनेका घरको मूल्य आकार तथा गुणस्तरअनुसार फरक पर्छ । तर, सामान्यतया ४ लाखदेखि २० लाख रुपैयाँ मूल्य भएका घर प्रिफेबबाट बन्ने गरेको प्रबन्ध निर्देशक डेउलाले बताए । दुईओटा कोठा, एउटा भान्सा र बाथरुम भएको एकतले घर ४ लाख रुपैयाँमा तयार हुने उनले बताए । बेलायती संस्था मुस्लिम हेण्डसले आरती एण्ड कम्पनीसँग सम्झौता गरी भूकम्पपीडितका लागि ५ सय प्रिफेब घर निर्माण गर्न लागेको उनको भनाइ छ । ‘अहिले दुईओटा कोठा, एउटा ट्वाइलेट बाथरुम र बरण्डा भएको ५० ओटा घरको सम्भौता भएको छ,’ उनले भने, ‘त्यसमा एउटा बाथरुमको खर्च हामीले बेहोर्छौं ।’
प्रिफेबबाट बनेका घरको फाइदा
- प्रिफेब प्यानलमा पहिले नै प्लाष्टर गरिएकाले भवन निर्माणपश्चात् प्लाष्टर गर्नुपर्दैन ।
- प्रिफेबमा टङ र ग्रुभ जोइनिङ प्रणाली हुन्छ ।
- तुलनात्मक रूपमा इँटाभन्दा यसको प्रयोग गरिएको घर छोटो समयमै तयार गर्न सकिन्छ ।
- सुक्खा तथा धूलोरहित निर्माण सामग्री भएकाले घर बनाउँदा फोहोर तथा धूलोको समस्या हँुदैन ।
- यसमा भएको फाइबरले तातो तथा ध्वनिलाई रोक्छ ।
- प्रिफेब प्यानलबाट बनेको घर हलुका हुने भएकाले भूकम्पबाट सुरक्षित हुन्छ ।
- सिमेण्ट र फाइबरबाट बनेको हुँदा आगलागीको जोखीम कम हुन्छ ।
- प्रिफेबलाई पुनः प्रयोगमा पनि ल्याउन सकिन्छ र साथै हलुका हुने हुँदा ढुवानीमा पनि सजिलो हुन्छ ।