काठमाडौं। सिंगापुरलाई ट्रान्जिट बनाएर नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अस्ट्रेलियाको सिड्नीमा सीधा उडानको तयारी गरेको झन्डै १ वर्ष हुन थालेको छ । साताको ३ दिन काठमाडौं–सिंगापुर–सिड्नी उडान गर्ने तालिकासमेत बनाएको निगम अहिले उक्त सेक्टरमा जाने अनुमतिको अन्तिम पर्खाइमा छ ।
निगमले उक्त सेक्टरमा उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको भन्दै अस्ट्रेलियाको नियामक निकाय सिभिल एसिएशन सेफ्टी अथोरिटी (कासा) को अनुमति पर्खिएको जानकारी दिएको छ । निगमका प्रवक्ता रमेश पौडेलले २०७९ चैतदेखि काठमाडौं–सिंगापुर–सिड्नी (सिड्नी अन्तरराष्ट्रिय विमानस्थल) सिधा उडानका लागि प्रस्ताव गरिएको जानकारी दिए ।
पहिलो चरणमा काठमाडौं–सिड्नी उडान गर्ने तयारी गरिएको र त्यसअनुसार नेपाल एयरलाइन्सले आवश्यक तयारी पूरा गरेको भन्दै उनले थपे, ‘कासाबाट उडान अनुमति पाउनासाथ नेपाल एयरलाइन्सको एयरबस–३३० जहाजले उडान गर्नेछ ।’ उनका अनुसार नेपाल एयरलाइन्सले उडानका लागि उडान तालिका पनि स्वीकृत गराइसकेको छ ।
नेपाल र अस्ट्रेलियाबीच २०७६ असोजमा दुईपक्षीय हवाई सम्झौता भएको थियो । त्यसअनुसार नेपाल एयरलाइन्सले काठमाडौं–सिड्नी उडान प्रस्ताव गरेर तयारी पूरा गरेको बताए पनि तत्कालै उक्त सेक्टरमा उडान गर्न भने नसक्ने देखिएको छ । नेपालका लागि अस्टे्रलियन राजदूत फेलिसिटी भोल्कले आर्थिक अभियानसँगको कुराकानीमा दुवै देशबीच सीधा उडानका लागि अझै ७ देखि १२ महीना नियामकीय प्रक्रियामा लाग्ने बताएकी छन् ।
‘काठमाडौं–सिड्नी सीधा उडानका लागि नियामकीय प्रक्रियामा उल्लेखनीय रूपमा काम भएको छ,’ भोल्कले भनिन्, ‘कासा र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बीच उडान सुरक्षाका विषयमा छलफल भएकाले नियामकीय प्रक्रियाका लागि अझै १ वर्षजति लाग्न सक्छ ।’ उडानका लागि विभिन्न चरणमा अहिले पनि छलफल जारी रहेको उनको भनाइ छ ।
पछिल्लो समयमा अस्ट्रेलिया अध्ययन, रोजगारी र भ्रमणमा जाने नेपालीको रोजाइमा पर्न थालेको छ । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ मा नेपालबाट १ लाख ५ हजार ३४३ जना विभिन्न प्रयोजनका लागि अस्ट्रेलिया गएको देखिन्छ । सन् २०२३ मै ३८ हजार ७९९ जना अस्ट्रेलियन पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ ।
अस्ट्रेलियाबाट आउने पर्यटक र यताबाट जानेको संख्या जोड्दा सामान्य अवस्थामा १ वर्षमा डेढ लाख हाराहारी मानिसको आवतजावत हुने देखिन्छ । अहिलेसम्म नेपालबाट अन्तरराष्ट्रिय उडान गर्नेमध्ये नेपाल एयरलाइन्सका लागि उपयुक्त बजार हुने भन्दै छिटो उडानको पहल आवश्यक भएको बताइएको छ । नेपाल आउने अस्ट्रेलियन पर्यटक क्रमश: बढेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ ।
पर्यटकीय गन्तव्यको रूपमा नेपाललाई प्रचारप्रसार र ब्रान्डिङ गर्न सके पनि अस्ट्रेलियाबाट आउने पर्यटक संख्या थप बढ्ने राजदूत भोल्कले बताइन् । उनले नेपालका ३८ जिल्लामा विभिन्न कार्यक्रमका लागि पुगेको भन्दै अगाडि थपिन्, ‘म निकै सक्रिय भएर नेपाली संस्कृति र पर्यटन क्षेत्रको प्रचारप्रसारमा पनि लागिरहेकी हुन्छु । थोरै भए पनि नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुगोस् भन्ने हो ।’ नेपाल सुन्दर देश भएकोले धेरै अस्ट्रेलियन पर्यटक ल्याउन सकिने सम्भावना पनि उनले औंल्याइन् ।
नेपालको प्रकृति, आध्यात्मिक सुन्दरता र अन्य अनुभव लिन पनि नेपालमा आउन उनले आह्वान गरिन् । यस्तै उनले नेपालले पर्यटनका अन्य सेग्मेन्टहरू– कुलिनरी टुरिजम (खानासम्बन्धी पर्यटन), हेल्थ मेडिटेसन, योगा जस्ता पक्षमा पनि नेपालले काम गर्नुपर्ने र प्रचारप्रसार आवश्यक भएको बताइन् । ‘सरकारलाई मेरो सुझाव छ नेपाल पर्यटनको सम्भावना भएको देश भएकाले ठूलो अभियानसहितको प्रचारप्रसारमा लाग्नुहोस् ।’