काठमाडौं । भारतीय नागरिकलाई कैलाश मानसरोवर यात्राको लागि अनुमति दिने विषयमा भारत र चीनबीच सहमति बनेसँगै नेपालका ट्राभल तथा टुर कम्पनीहरूले भारतीय पर्यटक लक्षित छुटसहितको बुकिङ खुला गरेका छन् ।
यसै हप्ता सम्पन्न दुई देशका परराष्ट्र सचिवस्तरीय वार्तापछि सन् २०२५ को गर्मी मौसममा भारतीय पर्यटकलाई सो गन्तव्यमा जाने अनुमति दिने घोषणा भएको हो । भारतीय र चिनियाँ सेनाबीच सीमावर्ती गलवान क्षेत्रमा झडप भएपछि चीनले भारतीयलाई कैलाश जाने अनुमति दिन छाडेको थियो । कोरोना महामारीपछि भने सबै विदेशीलाई कैलाश मानसरोवर यात्रा गर्न रोक लगाइएको थियो । पछि अन्य विदेशीलाई अनुमति दिएको चीनले भारतीयलाई भने दिएको थिएन । यो प्रसिद्ध तीर्थस्थल चीनको तिब्बतमा पर्छ ।
- काठमाडौं, हुम्लाको सिमिकोट र भारतको लखनउबाट हेलिकप्टरमार्फत कैलाश यात्रा गराउने योजना
- भारतीय आउने भएपछि व्यवसाय थप बढ्ने अपेक्षामा ट्राभल तथा टुर अपरेटरहरू
- सन् २०२० देखि भारतीय तीर्थयात्रु कैलाश मानसरोवर जान पाएका थिएनन्
माउन्टेन गेज ट्राभल्स एन्ड ट्रेकले कैलाश यात्रामा लाग्ने खर्च, यात्रा माध्यम र यात्रा अवधिबारेको जानकारीसहित सूचना सार्वजनिक गरेको छ । कैलाश मानसरोवर यात्रासमेत गराउँदै आएको उक्त कम्पनीले ४ ओटा रुटबाट कैलाश मानसरोवर यात्रा गराउने बताएको छ । कम्पनीले बस तथा काठमाडौं, हुम्लाको सिमिकोट र भारतको लखनउबाट हेलिकप्टरमार्फत कैलाश मानसरोवर यात्रा गराउने उल्लेख गरेको छ ।
उक्त कम्पनीले भारतको लखनउबाट हेलिकप्टरमार्फत कैलाश यात्रा गर्न ८ रात ९ दिन लाग्ने र त्यसका लागि प्रतियात्रु २ हजार ८३० अमेरिकी डलर खर्च लाग्ने बताएको छ । अर्काे रूट काठमाडौंबाट बस यात्रा गरेर जाँदा प्रतियात्रु २ हजार ८५० अमेरिकी डलर खर्च लाग्नेछ । यसमा १२ रात १३ दिनको यात्रा अवधि हुने उल्लेख गरिएको छ ।
काठमाडौंबाट हेलिकप्टरमा कैलाश मानसरोवर यात्रा भने ११ दिनको हुनेछ । यसका लागि प्रारम्भिक बुकिङ छुट दिने कम्पनीले उल्लेख गरेको छ । काठमाडौंबाट हेलिकप्टरमा यात्रा गर्दा प्रतिव्यक्ति ४ हजार १३० अमेरिकी डलर खर्च लाग्नेछ ।
कैलाश यात्रा गराउँदै आएको अर्को कम्पनी कैलाश भिजन ट्रेक्सका टुर अफिसर पुरूषोत्तम पौडेलले यसपालिबाट भारतीय पनि आउने भएकाले व्यवसाय थप बढ्ने बताए । ‘नेपाली ट्राभल कम्पनीका भारतीय एजेन्टले बुकिङ गराइरहेका छन् । उनीहरूले नेपालबाट यात्रा शुरू गर्नेछन्,’ उनले भने, ‘यसपालि तिब्बतमा धान्न नसकिने यात्रु हुनेछन् । सबै रकम बुझाएर बुकिङ गरेमा केही छुट हुनेछ ।’
कैलाश मानसरोवर यात्रा गर्न मध्य वैशाखदेखि (मे–सेप्टेम्बर) मध्य असोजसम्मको अवधिलाई उपयुक्त मानिन्छन् । कैलाश मानसरोवर हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । कैलाश मानसरोवर यात्राको व्यवस्थापन गर्दै आएको फिस्टेल टुर्स एन्ड ट्राभल प्रालिका प्रबन्ध निर्देशक नारायणप्रसाद पोखरेलले सन् २०१९ मा १८ हजारभन्दा बढी भारतीय धार्मिक पर्यटक नेपाल हुँदै कैलाश मानसरोवर गएको जानकारी दिए ।
नेपालबाट कैलाश मानसरोवर जान ३ ओटा रुट बढी प्रचलनमा छन् । एउटा रुट नेपालगञ्ज–हुम्ला–सिमिकोट हुँदै जान्छ । यो रूटमा बढी हेलिकप्टर प्रयोग हुन्छ । भारतीयले हेलिकप्टर बढी उपयोग गर्छन् । दोस्रो रुट रसुवागढी हुँदै जान्छ । कैलाश मानसरोवर जान नेपाल आउनेमध्ये ५० प्रतिशतले यो रुट प्रयोग गर्छन् । तेस्रो रुट ल्हासा हुँदै कैलाश मानसरोवर पुग्छ ।
सन् २०२५ को सिजनमा २५ हजारभन्दा बढी भारतीय कैलाश पुग्ने पोखरेलको अनुमान छ । पछिल्लो समय नेपालबाट पनि कैलाश दर्शन गर्न जानेको संख्या बढेको व्यवसायी बताउँछन् । पछिल्लो २ वर्षमा नेपालबाट कैलाश मानसरोवर जाने तीर्थयात्रीको संख्या बढेको कैलाश भिजनका पौडेलले बताए । उनका अनुसार अघिल्लो सिजनमा १० हजार नेपाली कैलाश मानसरोवर पुगेका थिए ।