काठमाडौं । विभिन्न उत्पादनमूलक मानिएका क्षेत्रमा कर्जा प्रवाह सुस्ताएको बेला अधिकांश वाणिज्य बैंकले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ५ महीनामा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढाएका छन् ।
सञ्चालनमा रहेकामध्ये चारबाहेक अन्य वाणिज्य बैंकले घरजग्गामा कर्जा बढाएका हुन् । एन.आई.सी. एशिया, हिमालयन, सानिमा र सिद्धार्थ बैंकबाहेक अन्य सबै बैंकले यस अवधिमा घरजग्गा कर्जा बढाएका छन् । घरजग्गा कर्जामा सबैभन्दा धेरै वृद्धि कुमारी बैंकको छ । सो बैंकले गत आर्थिक वर्षको पहिलो ५ महीनामा १ अर्ब ४४ करोड रुपैयाँ मात्र घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गरेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ८१ करोड रुपैयाँ प्रवाह गरेको छ ।
सबै वाणिज्य बैंकको मिलाउँदा २ खर्ब ३४ अर्ब रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको देखिन्छ । यो गत आर्थिक वर्षको पहिलो ५ महीनाको तुलनामा १० दशमलव ८१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सो अवधिमा बैंकहरूले कुल २ खर्ब ११ अर्ब रुपैयाँ कर्जा घरजग्गामा प्रवाह गरेका थिए ।
- सबैभन्दा बढी कर्जा प्रवाह गर्नेमा एन.आई.सी. एशिया बैंक
- प्रतिशतका आधारमा कुमारी बैंकको सर्वाधिक बढ्यो
- स्थायी बसोबासका लागि विदेशिने नेपालीको संख्यामा केही कमी
नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्वअध्यक्ष भेषराज लोहनीले अहिले बैंकहरूमा पर्याप्त लगानीयोग्य स्रोत भएकोले उनीहरूले घरजग्गामा सहजै कर्जा दिने गरेको बताए । ‘ब्याजदर पनि न्यून छ आजभोलि,’ उनले भने ।
गत आर्थिक वर्ष नै राष्ट्र बैंकले घरजग्गा क्षेत्रको जोखिम भार घटाई यस क्षेत्रमा लगानी बढाउन प्रोत्साहन गरेको थियो । त्यसैगरी, ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशतसम्म गरेको थियो । यसका लागि करचुक्ता प्रमाणपत्र बुझाउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
२० वाणिज्य बैंकमध्ये चालू आर्थिक वर्षको ५ महीनामा सबैभन्दा बढी एन.आई.सी. एशिया बैंकले २६ अर्ब ७१ करोड रुपैयाँ घरजग्गामा कर्जा प्रवाह गरेको छ । यद्यपि, गत आर्थिक वर्षको तुलनामा एन.आई.सी. एशियाको यस्तो कर्जा ११ दशमलव ४९ प्रतिशत कम हो । गतवर्ष पहिलो ५ महीनामा उक्त बैंकले ३० अर्ब १८ करोड रुपैयाँ कर्जा घरजग्गामा प्रवाह गरेको थियो । विगतमा अत्यधिक कर्जा विस्तार गरेको हुनाले अहिले घटे पनि घरजग्गामा सबैभन्दा बढी कर्जा प्रवाह गर्ने बैंक एन.आई.सी. एशिया बनेको हो । दोस्रोमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २४ अर्ब ८२ करोड रुपैयाँ कर्जा घरजग्गा प्रवाह गरेको छ । सबैभन्दा कम माछापुच्छ्रे बैंकले यस वर्षको ५ महीनामा १ अर्ब ६४ करोड रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेको छ ।