दुई फरक मुद्रालाई एक–अर्काेसँग विनिमय गराउन निर्धारित हुने दरलाई विनिमय दर भनिन्छ । अझ सरल भाषामा भन्दा यो एक राष्ट्रको मुद्रालाई अर्काे राष्ट्रको मुद्राको आधारमा गरिने मूल्याङ्कन हो । विदेशमा यात्रा गर्न निस्कँदा त्यहाँ खर्च गर्न सोही देशको मुद्रा खरीद गर्नुपर्ने हुन्छ । यो प्रक्रिया कुनै वस्तु खरीद गरेजस्तै हो । सिद्धान्ततः एउटै वस्तुको विक्री मूल्य फरकफरक देशमा पनि एकै हुनुपर्छ । किनकि, एउटा देशको मुद्राको जन्मसिद्ध मूल्य अर्काे देशकोसँग व्यवस्थित गर्ने काम विनिमय दरले गर्छ ।
एउटा मुद्रालाई अर्काे मुद्रासँग विनिमय गर्ने दुई तरीका छन् । एउटा फिक्ष्ड÷पेग्ड रेट (स्थिर विनिमय दर) र अर्काे फ्लोटेड रेट (परिवर्तित विनिमय दर) । विनिमय दरको निर्धारण र व्यवस्थापन गर्ने काम हरेक राज्यको केन्द्रीय बैङ्कले गर्छ । विश्वका प्रमुख मुद्राको मूल्यको आधारमा विनिमय दरको निर्धारण गरिएको हुन्छ (यस्ता प्रमुख मुद्राको रूपमा खासगरी, अमेरिकन डलरलाई लिने गरिन्छ । तर, यूरो, जापानको येन वा अन्य केही मुद्रा पनि हुन सक्छन् ।) स्थानीय विनिमय दर निर्धारण गर्न, केन्द्रीय बैङ्कले वैदेशिक विनिमय बजारमा आफ्नो मुद्राको खरीदविक्री गर्ने गर्छ ।
उदाहरणका लागि, यदि कुनै स्थानीय मुद्राको एक एकाइको मूल्य ३ अमेरिकन डलरबराबर निर्धारण गरिएको छ भने केन्द्रीय बैङ्कले बजारमा पर्याप्त मात्रामा डलर प्रवाह गर्न सक्नुपर्दछ । यस्तो दर व्यवस्थित गर्न केन्द्रीय बैङ्कले ठूलो परिमाणमा वैदेशिक मुद्राको सञ्चिति गर्नुपर्ने हुन्छ । वैदेशिक मुद्राको सञ्चिति बजारमा थप मुद्रा प्रवाह गर्न वा बजारबाट मुद्रा खिच्न गरिएको हुन्छ । केन्द्रीय बैङ्कको यस्तो कार्यले (मुद्रा स्फीति र मुद्रा सङ्कुचनको माध्यमबाट) बजारमा सहज रूपमा आपूर्ति बढाउन र बजारमा स्वाभाविक रूपमा उतारचढाव ल्याउन पनि सहयोग पुग्दछ । केन्द्रीय बैङ्कले आवश्यकताअनुसार विनिमय दर परिवर्तन पनि गर्न सक्छ ।
परिवर्तित विनिमय दर बजारको माग र आपूर्तिको आधारमै निर्धारण हुन्छ । यस्तो दरलाई अर्काे शब्दमा ‘सेल्फ करेक्टिङ’ अर्थात् आफै सच्चिने दर पनि भन्न सकिन्छ । किनभने, बजारको आपूर्ति र मागमा आउने विविधताले यस्तो दर आफै सच्चिन्छ । एउटा साधारण उदाहरण हेरौं, यदि बजारमा कुनै मुद्राको माग कम छ भने त्यसको मूल्य पनि घट्छ र यसबाट आयातित वस्तुको मूल्य वृद्धि हुन्छ । परिणामतः यसले सो मुद्राको माग कम हुने राष्ट्रभित्रै स्थानीय उत्पादन तथा सेवा वृद्धि गर्न दबाब पर्छ । यसले सो राष्ट्रमा रोजगारी सृजना हुन थाल्छन् र बजार पुनः सच्चिन थाल्छ । परिवर्तित दर निरन्तर परिवर्तन हुने प्रक्रिया हो ।
वास्तविकतामा कुनै पनि मुद्रा पूर्णतः स्थिर वा परिवर्तित भइरहँदैन । स्थिर दर कायम गरिएको राष्ट्रमा बजारको दबाबले कहिलेकाहीँ यस्तो दर परिवर्तन गर्न पनि बाध्य बनाउन सक्छ । कहिलेकाहीँ स्थानीय मुद्राले स्थिर गरिएको अर्काे मुद्राभन्दा छुट्टै मूल्य प्रतिबिम्बित गर्यो भने कालोबजारी बढ्न सक्छ । यस्तो समयमा केन्द्रीय बैङ्कले आधिकारिक बजार बाहिर कायम भइरहेको आफ्नो मुद्राको मूल्यअनुसार नै सो मुद्राको अवमूल्यन गर्न वा अधिमूल्यन गर्न बाध्य हुन्छ । केन्द्रीय बैङ्कको सो कार्यले कालोबजारी कम गर्न वा रोक्न सजिलो हुन्छ ।
परिवर्तित दर कायम गरिएको राष्ट्रमा समेत कहिलेकाहीँ केन्द्रीय बैङ्कले स्थिरता कायम गर्न र मुद्रास्फीति कम गर्न बजारमा हस्तक्षेप गर्न सक्छ । यद्यपि, विश्व परिवेशमा केन्द्रीय बैङ्कहरूले बिरलै यस्तो कार्य गरेको पाइन्छ ।
किन मूल्य स्थिर गरिन्छ ?
स्थिरता कायम गर्न एउटा मुद्रालाई अर्काे मुद्रासँग पेग्ड (स्थिर) गर्ने गरेको पाइन्छ । विशेषगरी विकासोन्मुख देशहरूले स्थिर रूपमा वैदेशिक लगानी आउने वातावरण बनाउन मुद्रा पेग्ड गर्ने गरिएको पाइन्छ । मुद्रा पेग्ड गर्दा लगानीकर्ताले जहिले पनि आफ्नो लगानीको मूल्य थाहा पाउन सक्छ र बजारमा हुने विनिमय दरको उतारचढावमा उसले चिन्तित हुनु पर्दैन । यस्तो कार्यले बजारमा आत्मविश्वासको तह वृद्धि गरेर मुद्रास्फीति कम गर्न र बजारमा माग बढाइरहन सहयोग पुग्दछ ।
मुद्रा पेग्ड गरिँदा विभिन्न वित्तीय सङ्कट पनि आउन सक्छन् । त्यसैले, लामो अवधिसम्म मुद्रा पेग्ड गरिरहन सम्भव छैन । मेक्सिकोमा सन् १९९५ मा, एशियामा सन् १९९७ मा र रसियामा सन् १९९७ मा भएको वित्तीय सङ्कटले पनि यो कुरा पुष्टि गर्छन् । सो समयमा मेक्सिको र ती महाद्वीपमा स्थानीय मुद्राको मूल्य उच्च कायम गर्न पेग्डको रणनीति लिइएको थियो, जसले त्यहाँको मुद्रा अधिमूल्यन भयो, अर्थात् त्यहाँका सरकारले अन्य विदेशी मुद्राहरूसँग आफ्नो मुद्रा सटही गर्नै सकेनन् र बजारको माग पूरा हुन पनि सकेन । त्यहाँको मुद्रा अवमूल्यन हुनुअघि नै लगानीकर्ताहरूले समेत विदेशी मुद्रामा त्यसलाई परिवर्तन गर्न आफ्नो लगाानी झिक्न थाले । यसले त्यहाँ सञ्चित रहेको विदेशी मुद्राको पनि प्रयोग हुन सकेन, जसको कारण मेक्सिको सरकारले आफ्नो मुद्रा ‘पिसो’ पेग्ड गरिएको मुद्राभन्दा ३० प्रतिशत अवमूल्यन गर्नुपर्यो भने थाइल्याण्ड सरकारले पनि १९९७ को अन्त्यतिर आफ्नो मुद्रा परिवर्तित दरमा लग्यो । यो क्रममा थाइल्याण्डको मुद्रा (भाट) ५० प्रतिशतसम्म अवमूल्यन भयो ।
प्रायः अविकसित पूँजी बजार भएको र नियामक निकायहरूको कमजोर नियमन भएका देशहरूले स्थिरता कायम गर्न मुद्रालाई अर्काे देशको मुद्रासँग पेग्ड गरेका हुन्छन् । ती देशमा परिवर्तित दर कायम गर्न किन पनि सम्भव हुँदैन भने, यसका लागि शक्तिशाली वित्तीय प्रणाली र परिष्कृत बजारको आवश्यकता पर्छ । त्यस्ता राष्ट्रहरूमा परिवर्तित मूल्य कायम गर्न उच्च पारदर्शितासहितको आर्थिक पुनःसंरचनाको खाँचो पर्छ ।
कतैकतै भने देशहरूले आंशिक रूपमा आफ्नो मुद्रा पेग्ड गरेका हुन्छन्, जसमा आवधिक रूपमा पेग्ड गरिएको मुद्राको दर संशोधन गरिन्छ । कहिलेकाहीँ पेग्ड गरिएका मुद्राहरूलाई क्रमशः फ्लोटेडमा लैजान पनि यस्तो गर्ने गरिन्छ । नेपालमा पनि यहाँको मुद्रालाई भारतीय मुद्रासँग पेग्ड गरिएको छ । त्यसैले, भारतको १ सय रुपैयाँबराबर नेपालको १ सय ६० रुपैयाँ हुन्छ । भारतको मुद्रा अन्य देशको मुद्रासँग साट्दा जति कायम हुन्छ, नेपालको पनि सोसँगै ती देशका मुद्रासँगको विनिमय दर कायम हुन्छ । अहिले अमेरेकी डलरको तुलनामा भारू कमजोर बनेकाले नेपाली मुद्रा पनि अवमूल्यन भएको छ । राष्ट्र बैङ्कले शनिवार र आइतवारकै लागि प्रतिअमेरिकी डलर बराबर १ सय ९ रुपैयाँ तोकेको छ ।
निष्कर्ष
हुन त विगतमा विश्वका प्रमुख मुद्राहरू पनि पेग्ड गरिएका हुन्थे, तब यस कार्यले विश्वव्यापी व्यापारमा स्थिरता कायम गर्न सकेको पनि थियो । अर्काेतर्फ परिवर्तित दरका पनि आफ्नै खाले समस्या र जटिलता छन् । तर पनि दीर्घकालीन रूपमा मुद्राको मूल्य कायम गर्न यो माध्यम सहयोगी भएको छ ।