पर्वतारोहण पर्यटन नेपालका लागि विदेशी मुद्रा आर्जन गर्ने असाध्यै राम्रो माध्यम बनेको छ । अझ पर्वतारोहण पर्यटनलाई पर्यटन उद्योगको मेरूदण्ड नै हो भन्दा पनि फरक नपर्ला कि ? यसको प्रमाण भनेको हरेक वर्षको पर्यटकीय मौसममा नेपाल रहेका विभिन्न हिमाल आरोहणका लागि आउने गरेका विभिन्न देशका पर्वतारोहीको संख्याले पनि बताउने गरेको छ ।
पर्वतारोहण गर्न आउने पर्यटक जो हुन्छन्, उनीहरूले अन्य उद्देश्यले आउने पर्यटकले गर्ने खर्चभन्दा बढी खर्च गर्ने गरेको उदाहरणले पनि देखाउँछ । जस्तो कि नेपाल पर्वतारोहण संघले सन् २०११ मा आफ्नो मुखपत्र ‘नेपाल पर्वत’मा प्रकाशित भएको एक विवरणअनुसार (नेपाल सरकारले ३३ ओटा ससाना हिमाललाई नेपाल पर्वतारोहण संघलाई रेखदेख गर्ने, परमिटबापत शुल्क उठाउनेलगायत जिम्मेवारी सुम्पेको छ । ती ३३ ओटा ट्रेकिङ पिक आरोहण गर्न आएका विदेशी पर्वतारोहीले मात्रै सन् २०११ को स्प्रिङ (चैत–वैशाख) सिजनमा ७२ लाख ९ हजार ३ सय ५६ अमेरिकी डलर खर्च गरेका थिए ।
उक्त सिजनमा ४ सय ४७ ओटा पर्वतारोही टोलीले सलामी दस्तुरबापत मात्रै नेपाल पर्वतारोहण संघलाई १ लाख ८४ हजार ९ सय ७५ अमेरिकी डलर तिरेका थिए । तत्कालीन बजार भाउअनुसार सटही गर्दा नेपाल पर्वतारोहण संघलाई १ करोड ३३ लाख १८ हजार २ सय रुपैयाँ प्राप्त भएको थियो । यसरी हेर्दा ३३ ओटा ट्रेकिङ पिकबाट मात्रै नेपालले ५१ करोड ९० लाख ७३ हजार ६ सय ५० रुपैयाँ आय आर्जन गरेको देखिन्छ, सोही समयमा । स्मरणीय छ, हालसम्म नेपाल सरकरले पर्वतारोहणका लागि खुल्ला गरेको लगभग चारसय हिमालमध्ये बाँकी हिमालको सलामी लिने, रेखदेख गर्ने काम भने पर्यटन विभागले गर्छ ।
नेपाल भूगोल र जनसंख्याको आधारमा विश्वका अन्य देशको तुलनामा मध्यस्तरको भए तापनि नेपालमा हिमरेखाभन्दा (५,५०० मीटर) माथिका १९ सय १३ ओटाभन्दा बढी हिमाल रहेका छन् । नेपाल सरकारले पटकपटक गरेर लगभग ४ सय १४ ओटा ५ हजार ५० मीटरभन्दा अग्ला हिमालहरू पर्वतारोहणका लागि खुला गरेको छ । त्यसमा पनि हिमालहरूको कुरो गर्दा हालसम्म विश्वले मान्यता दिएका ८ हजार मीटरभन्दा माथिका १४ ओटा हिम शिखरमध्ये ८ हजार ८ सय ४८ मीटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा अधिकांश नेपालमा रहेका छन् । केही नेपाल–चीन सिमाना (जस्तै सीसापाङ्मा) छन् भने केही नेपाल भारत सिमानामा (जस्तै कञ्चनजंघा) छन् । यी ८ हजार मीटरभन्दा माथिका हिमालमध्ये ८ हजार ५ सय ८६ मीटर अग्लो कञ्चनजंघा, ८ हजार ५ सय १६ मीटर अग्लो ल्होत्से, ८ हजार ४ सय ६३ मीटर अग्लो मकालु, ८ हजार २ सय एक मीटर अग्लो चोओ–यु, ८ हजार १ सय ६७ मीटर अग्लो धवलागिरि, ८ हजार १ सय ६३ मीटर अग्लो मनास्लु, ८ हजार ९१ मीटर अग्लो अन्नपूर्ण गरी आठओटा ( ६० प्रतिशत) नेपालमै छन् । नेपालमा रहेका हाम्रा ८ हजारभन्दा माथिका हिमालका बारेमा प्रचारप्रसार, बजारीकरण नहुनु र स्वदेशी तथा विदेशी आरोहण दलले आरोहण गर्न नसक्नु वा नगर्नु अर्कै कुरो भयो ।
८ हजार मीटरभन्दा माथिका ठूला हिमाललाई छाडेर नेपाल सरकारले नेपाल पर्वतारोहण संघलाई सलामी दस्तुर असुली र रेखदेखको जिम्मा दिएको ३३ ओटा ससाना ‘ट्रेकिङ पिक’ आरोहण गर्न आएको २०५५/५६ देखि २०६७/६८ सम्मको (स्रोत : नेपाल पर्वत, मे २०११) तथ्यांक हेर्दा २०५५/५६ मा ४ हजार ३ सय ३८ जनाले विभिन्न ट्रेकिङ पिकहरू आरोहणका लागि अनुमति लिएका थिए भने २०६७/६८ मा ६ हजार ४ सय २७ जनाले अनुमति लिएको देखिन्छ । सन् २०११ को स्प्रिङ सिजन अर्थात् मार्च–अप्रिल–मे महीनाको रेकर्डलाई आधार मानेर हेर्दा नेपाल पर्वतारोहण संघले रोयल्टीबापत १ करोड ३३ लाख ८ हजार २ सय ५२ रुपैयाँ आय आर्जन गरेको देखिन्छ ।
विश्वमा रहेका ८ हजार मीटरमाथिका हिमाल १४ ओटा छन् । नेपालमा भएकाबाहेक ६ ओटा ८ हजार मीटरभन्दा अग्लो हिम शिखरमध्ये ८ हजार १३ मीटर अग्लो सिसा–पाङमा चीन–नेपाल सीमा र ८ हजार ६ सय ११ मीटर अग्लो के–टु, पाकिस्तान, ८ हजार १ सय २५ मीटर अग्लो नांगा पर्वत पाकिस्तान, ८ हजार ६८ मीटर अग्लो गासेर बु्रम–१ पाकिस्तान–चीन सिमाना, ८ हजार ५६ मीटर अग्लो ब्रोड पिक, पाकिस्तान–चीन सिमाना, ८ हजार ३४ मीटर अग्लो गासेर ब्रुम–२, पाकिस्तान–चीन सिमानामा रहेका छन् । माथि उल्लिखित यी दुईओटै देशमा रहेका ८ हजारमाथिका हिमाल चढ्दा पर्वतारोहीले तिर्ने सलामी शुल्क भने नेपालको दाँजोमा ज्यादै नै कम रहेको छ । त्यसैले समय छँदै नेपाल सरकारले पनि नेपालमा रहेका ८ हजार मीटरमाथिका हिमाल चढ्दा पर्वतारोही दल तथा व्यक्तिले तिर्ने शुल्क अर्थात् सलामी दस्तुर घटाउनेलगायत अन्य अफिसियल झन्झटहरू हटाउनेतर्फ सोच्नुपर्ने देखिन्छ ।
नेपालमा विश्वका ८ हजार मीटर अग्ला १४ ओटा हिमालमध्ये ८ ओटा नेपालमा छन् भने अब विश्वका ८ हजार मीटरभन्दा माथिका हिमाल २० ओटा हुँदै छन् । सौभाग्यवश यसरी थपिने ६ ओटा नयाँ हिमाल सबै नेपालमै रहेका छन् । थपिने ६ ओटा हिमालमध्ये कञ्चनजंघा वरिपरि चारओटा र ल्होत्से हिमाल वरिपरि दुईओटा रहेका छन् । नयाँ थपिनेवाला ती ६ ओटा हिमालको आधिकारिकताका लागि लगभग डेढ वर्षअघि नै स्वीट्जरल्यान्डबाट आउने प्राविधिक (हिमालसम्बन्धी विज्ञ/ज्ञाता) टोलीले नापजाँच गर्ने भनिएको भए तापनि कोरोना महामारीका कारण हालसम्म उक्त कार्य हुन सकेको छैन ।
लेखक पर्यटन व्यवसायी हुन् ।