काठमाडौं । खानी खोला हाईड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनको जिम्मा सिटिजन्स क्यापिटल लिमिटेडलाई दिएको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त भएको हो ।
कम्पनीको गत भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरिसकेको छ ।
हाल कायम चुक्ता पूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय कम्पनीले गरेको हो । कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त हकप्रद शेयर विद्युत नियमन आयोगको स्वीकृतिका लागि आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ छ । सोही पूँजीको आधारमा शत प्रतिशत हकप्रद शेयर निष्कासनको तयारी कम्पनीले गरेको हो । कम्पनीले बैंकको ऋण भुक्तानीका लागि हकप्रद शेयर निष्कासन गर्न लागेको जानकारी दिएको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको दीर्घकालीन कर्जा ८० करोड ८५ लाख रुपैयाँभन्दा बढी छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनी २ करोड २८ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ६३ लाख ६४ हजार रुपैयाँ खुद नाफामा रहेको कम्पनी गत वर्ष भने नोक्सानीमा गएको हो ।